पूर्ण सरसफाई अभियानमा माडि गाउँपालिका

पश्चिम रोल्पाको माडी गाउँपालिकाले पूर्ण सरसफाई सम्बन्धी कार्यक्रमलाई तिब्रता दिने भएको छ । गाउँपालिकालाई पूर्ण सरसफाई युक्त बनाउने भन्दै सरसाफाई सम्बन्धी रणनिती नै तयार गरी अभियाल संचालन गर्ने भएको हो ।

आज माडी गाउँपालिकाको कार्यालय घर्तीगाउँमा गाउँपालिका स्तरिय सरसफाई सम्बन्धी रणनिति तथा सरसफाई सम्मेलन गरि अभियानको बारेमा जानकारी गराएको हो ।  गाउँपालिका भित्र रहेका सम्पूर्ण वडा टोललाई पूर्ण सरसफाई युक्त बनाउन सबै सरोकारवाला निकाय संग छलफल परामर्श समेत गरिरहेको गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनमगरले जानकारी दिनु भयो । नागरिकको स्वास्थ्य संग जोडिएको कार्यक्रम भएकोले पनि पूर्ण सरसफाई कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सम्पूर्ण वडा सक्रियता पुर्वक लाग्न आग्रह गर्दै अध्यक्ष पुनले सरसफाई सम्बन्धी कुनै पनि आर्थिक समस्या भएमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो ।

गाउँपालिका स्तरिय रणनिती नै तयारी गरी अभियान थालेको गाउँपालिकाले वडा नं ६ कोर्चबाङलाई आगामी असार मसान्त सम्म पूर्ण सरसफाई वडा घोषणा गरिसक्ने लक्ष्य राखेको छ । अन्य वडाको टोल बस्तीलाई पनि पूर्ण सरसफाई युक्त बनाउनका लागि चैत्र मसान्त सम्म सचेतना कार्यक्रमलाई ब्यापक बनाइने भएको छ ।

गाउँपालिका अध्यक्ष नन्द बहादुर पुन मगर को अध्यक्षतामा भएको कार्यक्रमको संचालन माडी गाउँपालिका सरसफाई संयोजक भद्रबिर घर्ति मगरले गर्नु भएको थियो । भने कार्यक्रममा गाउँपालिका अन्तरगतका विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य सरोकारवाला निकायको सहभागिता रहेको थियो ।