काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १७ वटा ठाउँबाट अग्रपंक्तिमा खटिएका व्यक्तिलाई कोभिडविरुद्धको थप एक अतिरिक्त मात्रा खोप (बुस्टर डोज) दिने भएको छ ।
तत्कालका लागि अग्रपंक्तिमा (फन्टलाइनर ) काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्ले जानकारी दिए ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मीहरू, शव व्यवस्थापनमा खटनेहरु, एम्बुलेन्स चालक तथा शववहान चालक फ्रन्टलाइनरमा पर्ने बताइएको छ । यही चरणमा स्थानीय पालिकाका जनप्रतिनिधिहरू, स्थानीय पालिकाका कर्मचारीहरू, सशस्त्रको बिओपीमा खटिएका, जनपथ प्रहरी, शव व्यवस्थापनमा खटिनेहरु पर्ने छन् ।
यस्तै बैंकको क्यास काउन्टरमा खटिने कर्मचारी , सरकारी सेवामा अग्रपंक्तिमा खटिने कर्मचारीहरू पनि यस भित्रपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
८ वटा सरकारी अस्पताल र नाकासहित ९ वटा निजी अस्पतालबाट खोप दिन शुरु गरिएको काफ्लेले जानकरी दिए । उनका अनुसार नेपाली सेनाको अस्पताल (छाउनी), नेपाल प्रहरी अस्पताल (महाराजगञ्ज) , सशस्त्र प्रहरी अस्पताल ढबलम्बु), त्रिवि शिक्षण अस्पताल (महाराजगञ्ज), वीर अस्पताल महावौद्य, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, शहीद शुक्रबार अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट बुस्टर डोज दिइने छ ।
त्यसैगरी, सुभेक्षा अस्पताल सितापाइला, जनमैत्री अस्पताल बालाजु, पिपुल्स डेन्टल कलेज सामाखुशी, नर्भिक अस्पताल थापाथली, नोभेल अस्पताल सिनामंगल, बयोधा अस्पताल बल्खु , शहीद मेमोरियल अस्पताल कलंकी, नयाँ बसपार्क, एपेक्स पोलिक्लिनिक जडिबुटीबाट पनि बुस्टर खोप लिन सकिन्छ ।
बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ । आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ ।