प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता, जबरा निलम्बित

 

 

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार  संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बित भएका छन् ।

संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाउने छैनन् ।

विहान ११ बजेर १० मिनेटमासत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गराएका छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।
महाअभियोग लगाउनुका आधार र कारण भनेर २१ वटा बुँदा समावेश गरिएको छ ।

जबराको राजीनामा माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएसनले जबराले राजीनामा नदिएपछि महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण समेत गराएको थियो ।