घोराही उपमहानगर भित्रका जलाशयलाई पर्यटकिय गन्तव्य बनाउने

असोज १० घोराही, घोराही उपमहानगरपालिका भित्र रहेका जलाशयहरुलाई पर्यटकिय गन्तव्य बनाउने भएको छ । विश्व पर्यटन दिवसका अवसरमा उपमहानगरपालिकाले कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरि पर्यटकिय गन्तव्य बनाउने घोषणा गरेको हो । नगरस्तरीय पर्यटन तथा संस्कृती प्रबद्र्धन समितिले नगरले बनाएका ती कृत्रिम जलाशयहरुलाई प्रचारप्रसारमा ल्याउने गरि पर्यटकिय गन्तव्य बनाउने घोषणा गरेको हो ।
नगर उपप्रमुख हुमाकुमारी डिसी, समितिका संयोजक रमेशकुमार पाण्डेय, पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेल, पर्यटन शाखाका प्रमुख बालकृष्ण खनाल, पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतम सहित कर्मचारी, पत्रकारहरुको टोलीले बुधबार आधा दर्जन कृत्रिम जलाशयहरुको अध्ययन अबलोकन गरेको छ । अहिले ती जलाशयबाट किसानहरुले सिचाई गरिरहेकाछन भने स्थानीयहरुले माछापालन गर्दै आएकाछन् । त्यसैगरी पर्यटन प्रबद्र्धन गर्दै गन्तव्यका रुपमा विकास गर्न डुंगा सञ्चालन गर्ने, घुम्न, रमाइलो गर्न, फोटो खिच्ने गरि पूर्वाधारहरु तयार पारेर आन्तरीक तथा बाह्य पर्यटकहरुको गन्तव्य बनाउने योजनाका साथ दिवसलाई मनाइएको शाखा प्रमुख बालकृष्ण खनालले जानकारी दिनुभयो । टोलीले चेपे, चरिंगे, ढिकपुर, कर्जाही र गुलरीय जलायशको अध्ययन र अबलोकन गरेको छ ।