संरक्षणविहिन दाङका भ्यूटावर

दाङ, पर्यटन प्रवद्र्धन गर्ने उदेश्य राखेर दाङका तीन वटा स्थानीय तहमा ६ वटा भ्यूटावर निर्माण गरिएकाछन् । करोडौं रूपैयाँ खर्चेर निर्माण गरिएका ती भ्यूटावरहरु संरक्षणविहिन अवस्थामा छन । बंगलाचुली गाउँपालिका– ५ मा रहेको बंगलाचुली भ्युटावर र तुलसीपुर–१९ छिल्लीकोटमा रहेको भ्युटावर चढ्न र हेर्न मानिस जाने गरे पनि अन्य भ्युटावर भने प्रयोगविहीन जस्तै अवस्थामा छन ।
बंगलाचुलीका वडा नं.२, ५ र ८ मा तीनवटा भ्युटावर रहेकाछन भने तुलसीपुर उपमहानरपालिका–११ सुकौराकोटमा अर्को भ्यूटावर निर्माण गरिएको छ । लमही नगरपालिका–५ को अजम्बरी सामुदायिक वन हाताभित्र झन्डै साढे दुई करोड रूपैयाँ खर्च गरेर पाँच तले भ्युटावर खडा गरिएको छ ।
भ्युटावर निर्माणको काम थालेको आठ वर्ष बितिसक्यो सक्दा पनि उतm भ्युटावर अझै निर्माणको अवस्थामा रहेको अजम्बरी सामुदायिक वन समूहका अध्यक्ष पवन रिजाल बताउँछन् । आवश्यक बाटो, पानी लगायतका पूर्वाधार निर्माण नहुँदा छिल्लीकोटको भ्युटावरले आर्कषणता बढाउन सकेको छैन ।

जिल्लामा निर्माण गरिएका यी भ्युटावरहरु न त संरक्षित छन न प्रयोगमा छन । तीन वर्षअघि बंगलाचुली–१ धिमधिमे लेकमा निर्माण गरिएको भ्यूटावरमा निर्माण गरिएका ४ वटा शौचालय र पानी ट्यांकी फोडेर फालेको अवस्थामा छन । बस्तीदेखि टाढा रहेको र संरक्षणमा कसैले चासो नदिँदा आलमुनियमका ढोका तथा खानेपानीको ट्यांकी फोडेर फालेको बंगलाचुली–२ का अध्यक्ष मैते पुन बताउँछन् । भ्युटावर लगायत संरचना निर्माण भए पनि त्यसको संरक्षण र उपलब्धिका लागि नसोच्दा करोडौं रूपैयाँ खर्च गरेर निर्माण भएको भ्युटावर उपलब्धिविहीन जस्तै भएको वडाध्यक्ष पुन बताउँछन् ।

पर्यटन प्रर्वद्धनका दृष्टिले भ्युटावर निर्माण गरिनु ठिक भएपनि स्थानीय आवश्यकतालाई ध्यान नदिँदा अहिले भ्युटावर प्रयोगविहीन जस्तै भएको स्थानीय वीरबहादुर गाहामगर बताउँछन् । गाहामगरले भने–‘भ्युटावर भन्दा पहिले राम्रो बाटो, घुम्नलाई पार्क, पिउनलाई पानीको व्यवस्था गरिदिएको भए सायद मानिस आउँथे होला ।’ वडाध्यक्ष झवीन्द्र गाहामगर पनि भ्युटावर निर्माणसँगै त्यससँग आवश्यक पार्क, खानेपानी, बाटोलगायतका पूर्वाधार निर्माण हुन नसक्दा भ्युटावर निर्माणले सार्थकता पाउन नसकेको बताउँछन ।