बाँसबाट जीवन बदल्ने सपना

तुलबहादुर कवर मगर,भालुवाङ,
दाङको राप्ती गाउँपालिका वडा नम्बर–५ करङ्गेकोटकी अनिष्मा ओली आजकाल बाँस काट्ने,छिल्ने र विभिन्न किसिमका सामाग्री बनाउने कार्यमा व्यस्तछिन् ।
केही दिन पहिलेसम्म घाँस, दाउरा काट्ने र गाईबाख्राको गोठालो जादैमा दिन विताउने उनी अहिले राप्ती गाउँपालिकाले उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाहरुलाई बाँसबाट फर्निचर बनाउने सीप विकास तालिम प्रदान गर्न थालेपछि उनको दिनचर्या नै फेरिएको छ । उनले तालिम पश्चात सिकेको सीपलाई सदुपयोग गरि आत्मनिर्भर बन्ने बताइन् । सीप भयो भने आफ्नै ठाउँमा भएको बाँसबाट पनि आम्दानी गर्न सकिदो रहेछ ।
सोही तालिमका अर्का सहभागी बोमबहादुर थापाले खुसी व्यक्त गर्दै भने–“हामी जस्ता बेरोजगार युवाहरूले अब सीप सिकेर गाउँघरमै व्यवसाय गर्ने सोच बनाएका छौं’’ ।
त्यस्तै उनले तालिमबाट धेरै कुराहरु सिक्ने अवसर मिलेकाले तालिम पश्चात् व्यवसायीक रुपमा सामूहिक उत्पादन सुरु गर्ने बताए । बजारमा अहिले माग भएका सामानहरू बनाउने भएकाले पनि व्यवसायीक रूपमा आफूहरू सफल हुने विश्वास थापाको छ । ओली र थापा मात्रै होइन अहिले त्यस ठाउँका १५ जना युवा तथा महिलाहरुले सो तालिम लिई सामूहिक रुपमा व्यवसायीक बाँसको सामाग्री उत्पादनको तयारी गरेका छन् ।
त्यसको लागि उनीहरूले रम्तेल श्रमिक सहकारी संस्था स्थापनाको तयारी समेत थालेका छन् ।गाउँघरमा प्रशस्त पाइने बाँसबाट सामाग्री बनाउने सीप पाएपछि सहभागीहरु खुशी भएका छन् । तालिमका क्रममा उनीहरूलाई मुढा, कुर्सी, टेबुल लगायतका विभिन्न सामान बनाउन सिकाइएको प्रशिक्षक रामकुमार राईले जानकारी दिए । उनले सहभागीहरूमा सिक्ने उत्सुकता भएका कारण तालिम फलदायी भएको पनि बताए । ‘राम्रोसँग बनाउन सकियो भने एक जनाले दैनिक २÷३ हजारसम्म आम्दानी गर्न सकिन्छ’ प्रशिक्षक राईले भने । बाँसका सामग्रीको व्यवसाय समेत गर्दै आउनु भएका राईले पछिल्लो समय यस्ता वस्तुको माग बढेर गएको पनि बताए ।
स्थानीय रूपमा पाइने वस्तुबाट विभिन्न सामग्री बनाउँदा एकातिर आत्मनिर्भर हुने र अर्कातिर परम्परागत सीपको पनि संरक्षण हुने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए । त्यस्तै अध्यक्ष विष्टले सीप र प्रविधिको अभावका कारण खेर गइरहेका बाँसको सदुपयोग बाट निम्न आर्थिक आय भएका नागरिकहरुको जीवन स्तर बदलिने विश्वास व्यक्त गरे । यस बर्ष गाउँपालिका मार्फत एक दर्जन बढी विभिन्न सीप विकास तालिम सञ्चालन गरिएको छ । सञ्चालन भएका तालिमका सहभागी हरूलाई व्यवसाय सञ्चालनका लागि पालिकाले प्राविधिक सहयोग समेत गरिएको अध्यक्ष विष्टले जानकारी दिएका छन् ।