नोटंकी गरेर धान फल्दैन !

दिपेन्द्र घर्ति,प्रभाकर
२०८२ सालको असार १५ पार भयो । मौसमपानी परेर असार नै जनायो । किसानहरु खेतमा तल्लिन हुन थालेको पनि केहि दिन बितिसकेका छन । किसान रोपाइको लागी ज्यानफालेर खेतमा समय विताइरहेका छन । शरीरमा भोक,निन्द्रा,प्यास र थकाई सबै विर्सेर खेतको हिलोमा डुविरहेको अवस्था छ । नगरुन पनि कसरी अहिलेको समयमा यसो गरेर धान रोप्न सकेन भने वर्ष दिन केले पेट भर्ने ? मौसमले समेत ठग्ने पेशा कृर्षी हो । समयमा पानी समेत पर्न सकिरहेको छैन । किसानको इच्छा र समय अनुसार गर्न खोज्यो भने धान रोपाइनै हुन नसक्ने पिरलोले आकाशे पानीको अनुकुलतामा सबै कुरा विर्सेर खेतमा लाग्नुपर्ने अवस्था छ यसरी प्रकृतिले समेत ठगिरहेको अवस्था छ । यसकारण असारमा पानीको बर्षा केहि बढि हुने भएकाले किसानलाई असार पन्ध्रको समय अति महत्वको रहने गरेको छ ।

किसानलाई आकाशे पानीको पिरलो मात्र हैन,राज्यले पनि त्यतिकै तनावको थोपिरहेको छ । रोपाइको बेला आवश्यक पर्ने मल बिउविजनको अभावले दिक्दार र चिन्तित बनाइरहेको अवस्था छ । अभावसँगै महङ्गीले टुप्पी समाउने गरिरहेको छ । राज्यले आश्वासन बाहेक अरु दिन सकेको छैन । सिमित मात्रमा उपलब्ध हुने मल र विउविजनमा विचौलियाको विगविगी चलेको छ । मल पाउनलाई पनि दलको झोले बन्नुपर्ने वा भनसुन हुनुपर्ने,पहुँचवालाहरुको एक छत्र भनि साध्य छैन । मलपाउदा समेत निकै ठुलो संघर्षमा विजय हासिल गरे जसरी खुसियाली मनाउनुपर्ने जस्तो बनिरहेको छ । किसानहरु यस्ता खेल टिकदम जालझेल,राजनीतिबाट वाक्क,दिक्क बनेका छन र पनि सबै प्रकारका कठिनाइलाई पचाइ खेतको काममा मरिमेटी लागिरहेकैछन । किसानहरुमन्त्री,नेता,जनप्रतिनिधि,हाकिम कसैको विश्वास गर्न सक्ने स्थिति छैन ।
आशातित पनि छैनन । छन त केवल पानी कसरी पाउने,विउ कसरी पाउने ,मल कसरी पाउने चिन्ता र तनावमा।
राज्य संचालक सरकार र मन्त्रीहरु भ्रष्टाचारको चंगुलमा चुर्लुम्म डुबेका कहालीलाग्दा घृणित नाटकको मन्चन गरेर सिंहदरबारमा आसिन छ । किसानको विषयमा भलो त के सोच्ने समेत फुर्सद छैन । राज्यले किसानलाई आफ्नो राज्य छ भन्ने कहिल्यै अनुभूत गराउन सकेको छैन, जीवनभर मल,बीउ अभावको पिरलोले पिल्सिएको पिल्सिएकै छन । चुनावको बेला पाएको आश्वासनले कहिल्यै पुर्णता पाउन सकेन, आश्वासनसँग चुनावमा भोट साट्न पनि कहिल्यै छोडेन । नेताहरु यस्ता उदारो आश्वानका भोटले सिंहदरवार जानबाट कहिल्यै रोकिएनन् । तर कस्तो विडम्वना किसानले खेतीको समयमा मनभरीको श्वास समेत फेर्न पाउदैनन, कठै कृर्षी प्रधान हाम्रो देशका किसानको हविगत ’

असार पन्ध्रमा धान दिवसमा भव्य नौटंकीहरु भए । धानदिवस मनाउने तौर तरिका पनि अनेकौ रहेका रहे । कुर्षी प्रधान देश नेपालको । कोही कृर्षि मन्त्रीहरु खेतमा धान रोप्न गएर आफ्नो मन्त्री पद नै धानसँगै खेतमा विलाउने चर्तिकला देखाउछन । कोही मन्त्रीहरु गमलामा धान रोपेर उत्पादन बढाउछन । कोही मन्त्री धानको माला लगाएर स्टार होटेलका हलहरुमा धान रोपाई गरेर कृर्षिको विकाश गर्ने गर्दै आइरहेका छन । यसपटक भने विगतको भन्दा ठुलो क्षेत्र आफ्नै कार्यलयको परिसरमा राष्ट्रपतिज्यूले धान रोपाई गरेर धानदिवस मनाइएको छ । यसरी राष्ट्रपतिको यो आत्मनिर्भर कार्यले देशको कृर्षिले पक्कै विकाश गर्ने आशा पो पाल्ने हो कि ? यस्तै अन्य जनप्रतिनिधि,नेताज्युहरुले पनि फेसबुकको वालहरुमा रोपेको धानखेती व्यापक रहेको छ । किसानहरुलाई मल दिन नसक्ने राज्य, मन्त्रीहरु, जनप्रतिनिधीहरु र नेताहरु आफैले यसरी धान रोपेपछि पक्कै पनि विना मल पनि धानको उत्पादन होला भन्ने आशा पाल्नुपर्ने भयो । संविधानले मानिदिएर मन्त्री,नेता र जनप्रतिनिधिहरुको हातको छुवाईले फल्ने हो भने ।
नेपालको यस्तो प्रकारको राज्य प्रणालीको तौर तरिकाले,काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखानलाई चरितार्थ बाहेक केहि गर्दैन । शुद्ध बीउविजन र मलको अभावको कारण जीवनभर खेतमा पसिना बगाउने किसानको धानको उत्पादन हुन सकिरहेको छैन । नौटंकी गरेर असार पन्ध्र गतेको दिन स्टनवाजी गर्नको लागि रोपेको धानको उत्पादन कसरी बढ्ला । दिवसको नाममा गरिने यस्ता भद्दा कार्यक्रमहरुको कुनै अर्थ रहदैन् । मल विउविजनको व्यवस्था सहज आपुर्ति गर्नमा कमिसन र भ्रष्टाचारको जालो फिजाउने राज्यको संयन्त्रले धान दिवसको प्रपन्चरच्न हैन,मल बिउविजनको सहजआपुर्तिको व्यवस्थामा लाग्नु राज्यको दायित्व हो । आफ्नो दायित्वको निर्वाह गर्नेतिर ध्यान दियो भने धानदिवसको वास्तविक अर्थ रहन्छ ।

अन्तमा नेपाल कृषिप्रधान देश भएर पनि मल तथा बिउविजन जस्ता किसानको निम्नतम आवश्यकक्ता पुर्ति हुन नसक्नु जस्तो विडम्वना के हुन सक्छ र । किसानले कृर्षिको लागी पाउने सेवा सुविधा र अनुदानको कुरा आकाशको फल जस्तो भइरहेको छ । राज्यले कुर्षिको लागी गरेको अनुदान वा सेवा सुविधा वास्तविक कृषक सम्म पुग्न नसकेको कुरा दिन प्रतिदिन सुनिरहेको र भोगिरहेकै अवस्था छ । कृषकहरु आफ्नो पेशामा टिक्न नसकेर पेशाबाट पलायन हुनेको परिमाण डरलाग्दो छ । देश,खाद्यान्नमा परनिर्भर बन्दै गइरहेको छ । खेतबारीहरु बाँजो र बन्जर बन्दै छन । राज्यले यस्तो डरलाग्दो अवस्थालाई कसरी सुधार गर्ने भन्ने कार्यक्रम प्रभावकारी रुपमा तय गर्न सकिरहेको छैन ।
कृर्षिको समग्रपक्षमा राज्य उदासिन देखिन्छ । धान दिवसलाई रमाइलो र औैपचारिकताको हदसम्म मात्र लिइएको छ । दिवसको नाममा कार्यक्रमको खर्चको बील बढाउने बाहेक यस विषयमा नितिगत रुपले कुनै गम्भिर तालिएको पाइदैन । राज्य क्षेत्रवाट यस्तो हुनु देश र कृर्षि क्षेत्रको लागी ठुलो दुर्भाग्य बाहेक केही बन्न सक्दैन । त्यसैले राज्यको बाघडोर सम्हालेका जिम्मेवार निकायहरुले कृर्षिको मर्म,जटिलता जस्ता विषयमा सहज र सरल गर्ने दायित्व हो न कि यसलाई मजाक र मनोरन्जनको विषयका रुपमा लिने । यसर्थ धानदिवसको महत्वलाई बुझेर दिवसकै रुपमा मनाउने परिस्थितिको थालनी गरौं अनि मात्र धान दिवसको जय हुने छ ।