दिपेन्द्र घर्ती,प्रभाकर
जंगलको काखमा हामीले बिताएका ती कठोर रातहरू आज पनि मनको क्यानभासमा अमर चित्रझैं अंकित छन् । ती रातहरू,जब भोक,थकान र घाउको पीडाले हामीलाई एकैसाथ गाँजेको थियो तर हाम्रो आत्मबल र सहनशीलताले हामीलाई बाँच्न सिकाएको थियो । ती दिनहरूमा हामीले जंगलको बाटो,लालीगुराँसका राताम्मे फूलहरूको सौन्दर्य र प्रकृतिको कठोरतासँगै जीवनको अनमोल पाठ सिकेका थियौं ।हावाको सुसाहट,रुखका पातहरूको मन्द कम्पन र चन्द्रमाको मधुरो उज्यालोले हामीलाई साथ दिइरहेको थियो,मानौं प्रकृति स्वयं हाम्रो दुःखको साक्षी बनेर बसेको थियो ।
हामी जहाँ पुगेका थियौं,त्यहाँ बुकी चर्न गएका भैंसीको बथान रहेछन । ती मध्ये एउटा राँगो किनेर,हामीले त्यसैको काँचो मासु खाएर पेट भरेका थियौं । केही साथीहरूले त मासु पोलेर खाए,तर हामी घाइतेहरूका लागि काँचो मासु नै एकमात्र विकल्प थियो । भोकको बाध्यताले पेट भर्नुको अर्को कुनै उपाय थिएन । काँचो मासुको नमिठो स्वादले जिब्रोलाई तितो बनाएपनि,त्यसले हाम्रो भोक मेटाएको थियो। यो क्षण,जब हामीले प्रकृतिको काखमा यस्तो विषम परिस्थितिलाई स्वीकार गरेका थियौं, आज पनि त्यस क्षणले मनमा गहिरो छाप छोडेको
छ। त्यो रात,जब हामीले काँचो मासुको टुक्रा हातमा लिएर खाएका थियौं,त्यो केवल पेट भर्ने कार्य थिएन, बरु जीवन प्रतिको हाम्रो अटल विश्वासको प्रतीक थियो।
हाम्रा पछि सेना लाग्ने क्रम केही कम भएको थियो,तर हवाइ गस्तीको गड्गडाहटले तल जमिनमा संन्त्रास फैलाइरहेको थियो । पैदलको खतरा केही टाढिएको भए पनि, हाम्रो यात्रा जंगल र लेकको कठिन बाटोमा अडिएको थियो। भोक र तिर्खाको पीडा यति गहिरो थियो कि त्यसलाई शब्दमा बयान गर्न सकिँदैन । मर्नुभन्दा बौलाउनु जस्तो अवस्थामा पनि हामीले बाँच्नुको अर्थ खोजेका थियौं । हरेक दुःख,हरेक कष्टलाई हामीले सहजै पचाइरहेका थियौं, त्यतिवेला बाँच्नु नै हाम्रो एक मात्र लक्ष्य जस्तो बनेको थियो। जंगलको घनघोर अन्धकारमा, लालीगुराँसका फूलहरूले हामीलाई आशाको सानो किरण देखाइरहेका थिए । ती राताम्मे फूलहरू,जसले कठोर चट्टानहरूको बीचमा पनि आफ्नो सौन्दर्य कायम राख्थे, हामीलाई पनि हार नमान्न प्रेरित गर्थे।
साँझको झिसमिसे उज्यालोमा हामी थकित पाइलाहरू चाल्दै लालीगुराँसको जंगलमा प्रवेश गरेका थियौं । हप्तादिन देखि पुग्दो खाना नपाएको अवस्था थियो । भोकले आन्द्राभुँडी मिचोरेर राखेको थियो । हाम्रो गन्तव्य कति टाढा थियो, कसैलाई थाहा थिएन ।थकानले लखतरान भएका हामीले जंगलमै रात बिताउने निधो गर्यौं । हाम्रो टोलीमा घाइतेहरूको संख्या धेरै थियो र उनीहरूलाई बोकेर हिँड्ने साथीहरूको थकान पनि उत्तिकै थियो । तर कसैले पनि हार मानेका थिएनन् । यो एकताको भाव,यो साथीत्वको मर्मले हामीलाई अगाडि बढ्न प्रेरित गरिरहेको थियो। घाइते साथीहरूको पीडा देख्दा मन कटक्क खान्थ्यो तर उनीहरूको साहस र धैर्यताले हामीलाई पनि बल प्रदान गथ्र्यो ।
शरीरका घाउहरूमा नियमित ड्रेसिङ हुन सकिरहेको थिएन । समयको अभाव,उपचार सामग्रीको कमी र उचित खानपानको अभावले घाउहरू सन्चो हुनुको सट्टा झन् बिग्रँदै गएका थिए । इन्फेक्शनको खतरा बढिरहेको थियो,तर हामीसँग विकल्प थिएन। स्वास्थ्यकर्मी साथीहरूले ननिदाई,नखाई आफ्नो कर्तव्य निभाइरहेका थिए । तैपनि,सबैको उपचार सम्भव थिएन । यस्तो बाध्यतामा पनि हामीले पीडालाई सामान्य ठानेर अगाडि बढिरहेका थियौं। यो सहनशीलताको कथा आज पनि मनमा जीवन्त छ । घाउहरूले शरीरलाई कमजोर बनाएपनि,हाम्रो मनको बलले हामीलाई अडिग राखेको थियो ।
झोलामा बोकेको चामल सकिएको थियो । गाउँबाट टाढा भएकाले खाने कुराको कुनै सम्भावना थिएन । ठूलो टोली भएकाले थोरै खानाले पनि पुग्ने अवस्था थिएन । भोक,थकान र घाउको पीडा एकसाथ व्यहोर्नु पर्दा मनमा कारुणिक भावनाहरू उर्लिन्थे । तर हामीले यी सबैलाई पचाएर अगाडि बढिरहेका थियौं। साँझको बास रुखका छहारीहरूमा तय भएको थियो । सक्ने साथीहरूले रुखका हाँगा र पातहरू जोडेर छाप्रो बनाए । कतिपयले रुखका फेदमा बासस्थान बनाए । ठूलो स्वरमा बोल्न, आगो बाल्न र उज्यालो गर्न निषेध थियो । यो सबै सुरक्षाको लागि अपनाइएको सावधानी थियो । यस्तो विषम परिस्थितिमा पनि व्यवस्थापन भइरहेको थियो । साथीहरूको दौडधुप र कमिलाको गतिविधी जस्तो एकताले हामीलाई एकजुट बनाएको थियो । रातको निस्तब्धतामा,जब चन्द्रमाको मधुरो उज्यालोले जंगललाई रंगीचंगी बनाउँथ्यो,हामीले प्रकृतिसँगको सामीप्यतामा शान्ति खोजेका थियौं।
जब रातको निस्तब्धताले जंगललाई ढाक्यो, एचक्युबाट खबर आयो— आजको रात राँगाको मासुले छाक टार्नुपर्ने । बुकीमा चरेको भैंसीको बथानबाट एउटा राँगो किनेर मासु तयार गरिएको रहेछ । तर, हतियारको अभावमा मासु काट्न पनि कठिन थियो । तैपनि, साथीहरूले जसोतसो मासु तयार गरे । केहीले पोलेर खाए,तर हामी घाइतेहरूले काँचै मासु खानुपर्यो । आगो बाल्न निषेध थियो र दाउराको अभावले यो सम्भव पनि थिएन । काँचो मासुको स्वाद नमिठो थियो तर त्यसले हाम्रो भोक मेटाएको थियो । पछिल्लो दिन साथीहरूले लुकेर सानो आगोमा मासु पोलेर खाएको कुरा सुन्दा लाग्यो, त्यो स्वाद कति मिठो थियो होला । तर हामीले त काँचै मासुमा सन्तुष्टि खोजेका थियौं । त्यो रात,जब हामीले काँचो मासुको टुक्रा खाएर पेट भरेका थियौं, त्यो केवल भोक मेटाउने कार्य थिएन, बरु हाम्रो जीवनतताको प्रमाण थियो ।
यो कथा केवल भोक र पीडाको मात्र होइन, यो हाम्रो एकताको, हाम्रो सहनशीलताको र हाम्रो बाँच्ने चाहनाको कथा हो । आज ती पलहरूलाई सम्झँदा लाग्छ, के यो साँच्चै सत्य थियो ? ती जंगल, ती बुकी र ती लालीगुराँसका फूलहरू आज पनि मनमा उस्तै जीवन्त छन् । जब म पहाडको काखमा पुग्छु, ती विगतका रिलहरू मनमा घुम्छन् । ती क्षणहरूले मलाई प्रकृतिसँगको आत्मीयता र जीवनको गहिराइ बुझाउँछन् । हाम्रो यात्रा कठिन थियो, तर त्यसले हामीलाई बलियो बनायो। हाम्रो आत्माले ती कष्टहरूलाई जितेर बाँच्न सिकायो । यो संस्मरण मेरो मात्र होइन, यो ती सबै साथीहरूको हो,जसले काँचो मासु खाएर पनि जीवनको स्वाद चाखे । ती रातहरू,जब हामीले प्रकृतिको कठोरतासँग जुधेर पनि हाँस्न सिकेका थियौं, ती हाम्रो साहस र एकताको अमर गाथा हुन् ।



