उमेश बन्जाडे
कुनैपनि मुलुकको राष्ट्रिय झण्डा त्यो देशको सान,मान र सम्मान हो । झण्डा केवल कपडाको टुक्रा मात्रै नभएर देशको आत्मा हो, हजारौं शहीदको रगतले रंगिएको अस्मिता पनि हो । राष्ट्रिय झण्डा निष्ठा र बलिदानको प्रतिक हो,जसलाई फर्फराउँदा देशभित्रका प्रत्येक नागरिकले आफ्ना नशा–नशामा ‘म नेपाली हुँ’ भन्ने गौरव महसुस गर्न सक्छन्।तर दुःखद कुरो,आज त्यो झण्डा,जसले कहिल्यै कुनै राजनीतिक दलको झण्डाको अधीनमा झुक्नु परेको थिएन, त्यो नै भ्रष्ट,स्वार्थी र राष्ट्र द्रोहीको काँधमा कुनै सामान्य गम्छा जस्तै बेरिएको छ। सिंहदरबार जलाउनेका काँधमा झण्डा छ,सर्वोच्च अदालत जलाउनेको हातमा पनि झण्डा छ, अनि देशलाई खरानी बनाउनेको टाउकोमा समेत त्यही राष्ट्रिय झण्डा छ।आज विभिन्न बहानामा झण्डा बोकेर सडकमा हिँड्नेहरु धेरै छन्,तर हरेकको हातमा रहेको त्यो झण्डा देशको रक्षा होइन, अपराधको ढाल जस्तै बन्दै गएको अनुभुति हुन्छ ।
जसले संविधान मिच्छ, जसले भ्रष्टाचार गर्छ,जसले मुलुकको अस्तित्व नै धरापमा पार्न सक्छ उनैका हातहरुमा झण्डा देखिन्छ।जुन दृश्यले देशभक्ति भाव होइन, ढोंग प्रर्दशन गर्छ।झण्डा र देश बीचको सम्बन्ध रक्त रञ्जित बलिदानको इतिहास हो,तर आज त्यो इतिहास मनलाग्दी रुपमा सडक र मञ्चमा ठटाइने भाषणमा सिमित गरिएको छ।देशभक्तिको पहिचान अपराधीहरूले कब्जा गरिसकेको यो विषम परिस्थितिमा त्रिभुवन विमान स्थलमा आफ्ना लागि विदेशी सहयोग माग्दै झुक्ने नेताहरूको टाउकोमा पनि राष्ट्रिय झण्डा हुन्छ। कस्तो विडम्बना ? जो नेता विदेशी दस्तावेजमा हस्ताक्षर गरेर देशको नीति नै बेच्दछ,उसले झण्डालाई आफ्नो नाटकको पर्दा बनाउँछ ।जसको पेट विदेशी दूतावासको चिठ्ठीले भरिन्छ,उसले पनि ‘राष्ट्रियता’ को रटान लगाउँछ।आखिर कसरी यो परिवेशको सिर्जना भयो ? किन राष्ट्रिय प्रतीकहरूको पवित्रता माटोमा मिसाउने खेलखण्ड भइरहेका छन त भन्दा यसको स्पष्ट कारण राज्यको चरित्र हो भन्ने बुझ्न सकिन्छ। जब भ्रष्टाचार, स्वार्थ र अवसरवाद राज्यको आत्मा बन्छ,तब राष्ट्रिय प्रतीकहरू पनि चोखो रहँदैनन्। अहिले हाम्रो झण्डालाई पनि केवल सत्ता प्राप्तिको उपकरण जस्तै बनाइएको छ।कुनै पनि विरोध प्रदर्शनमा,जुनसुकै तोडफोड र आगजनीमा,राजनीति स्वार्थका मञ्चहरुमा झण्डा बोक्नेहरूको जमात देखिन्छ तर त्यही भीडभित्र जनताको नाङ्गो घाउ लुकाइन्छ।झण्डा बोकेर सरकारी भवनमा आगो लगाउनेहरू ‘क्रान्तिकारी’ कहलिन्छन्,तर अस्पतालमा औषधि नपाएर मर्ने नागरिकको टाउको माथि झण्डा ओढाइदिने कोही हुँदैन ? आज झण्डा देशभक्तिको प्रतीक होइन, ठगहरूको ‘ब्राण्ड’ जस्तै बनेको छ। जसले विदेशी शक्तिको दलाली गर्छ,उसैले बडो घमण्डका साथ झण्डा बोकेको छ ।जसले विद्यालयमा सडेको खाना बाँड्छ,उसले पनि झण्डाको आडमा देशको सेवा गर्छु भनिरहेको छ । जसले न्यायालयमा चोरहरूलाई निर्दोष साबित गराउँछ,उसले पनि झण्डा ओढेर ‘राष्ट्रको रक्षक’को भूमिका खेलेको वकालत गर्दछ।
राष्ट्रिय झण्डाको अर्थ र मूल्य बुझ्न हाम्रा पुर्खाहरूको संघर्ष सम्झनुपर्छ। गोरखा दरबारदेखि कर्णालीको चट्टानसम्म, भूमिबाट विदेशी सिपाही हटाउने योद्धाहरूले झण्डाको रंग आफ्नो रगतले बनाएका थिए। आज आएर एकातिर त्यो रगतको रंगलाई सस्तो राजनीतिक भाषणले फिका पारिदिएको छ भने अर्कोतिर हाम्रो देशभक्ति भाव पनि विज्ञापन जस्तै बनेको छ,जसमा झण्डा ओढेर उभिएर पछि जुनसुकै अपराध पनि ‘राष्ट्रकोहितमा’ ठान्नुपर्ने । झण्डा ओढ्दैमा कोही राष्ट्रवादी हुँदैन। देशभक्ति भनेको रगत उमाल्ने कुरा होइन,दिमाग र आत्मा समर्पण गर्ने कुरा हो । झण्डा बोकेर सडकमा हिँड्न सकिन्छ, तर देशका लागि आफ्नो स्वार्थ त्याग्न नसक्नेले त्यो झण्डा बोक्ने अधिकार राख्दैन् ।
हाम्रो समस्या के हो भने हामीले झण्डालाई चिनेर होइन,देखेर प्रेम गर्न सिक्यौं।त्यसैले जसले ठूलो भीड जम्मा गर्छ,जसले माइकमा ठूला नारा लगाउँछ,उसैलाई देशभक्त ठानिहाल्ने हामी आम नेपालिको एउटा गम्भीर कमजोरी हो। झण्डा केवल हावामा फर्फराउने वस्तु होइन, यो देशको आत्मसम्मान हो। तर जब अपराधीको काँधमा त्यो फर्फराउँछ, तब राष्ट्रको आत्मा रोइरहेको हुन्छ। सिंहदरबार जलाउनेले ‘व्यवस्था सुधार्न’भन्दै झण्डा बोकेको दृश्य केवल एक राजनीतिक व्यंग्य होइन,यो हाम्रो सामूहिक चेतनाको काँचो प्रमाण हो।सर्वोच्च अदालत जलाउनेले झण्डा बोकेर देशभक्ति देखाउँछ, अनि नागरिकले ताली बजाउँछौं, किनभने हामीले आजसम्म पनि अपराध र देशभक्तिको सीमाना छुट्याउन सिकेका छैनौं।आज हामीले झण्डाको दुरुपयोग रोक्न नसके भोलि संविधानको पनि व्यापार हुने छ।जब प्रतीकनै बिक्छ तब देशको अस्मिता कहाँ बाँकी रहन्छ ? झण्डा बोक्नेहरू लाई सम्मान दिइन्छ,तर झण्डाको मर्म जोगाउनेहरूलाई उपेक्षा गरिन्छ। स्मरण रहोस् (जब झण्डा अपराधीको पहिचान बन्न थाल्छ, तब नागरिकले देशभक्ति माथि शंका गर्न थाल्छन् ।
यही शंका नै राष्ट्रको अस्तित्व अन्त्यको सुरुवात हुन सक्छ । हामीभित्र झण्डा बोकेर भन्दा झण्डाको मूल्य बुझेर देश बचाउँन सकिन्छ भन्ने भावनाको जागृत हुन जरुरी छ।झण्डाको मर्म बुझ्ने व्यक्तिले कहिल्यै राष्ट्रका सम्पत्ति जलाउन सक्दैन् ।उसले देशको सर्वोच्च न्यायालय होईन,अन्याय जलाउँछ, भ्रस्टाचार जलाउँछ,बेइमानी जलाउँछ।तर आजको वास्तविकता त्यसको ठ्याक्कै उल्टो छ बनेको छ।जहाँ अन्याय र भ्रस्टाचारले हाम्रो देशको झण्डा बोकेको छ। झण्डा हल्लाउँदै माटोको स्वाभिमान बेच्नेहरुलाई हामी नेपालीले विगतमा पनि झेलेका हौं र आज पनि त्यही दृश्य दोहोरिँदैछ। फरक केवल पात्रको हो,चरित्रको होइन।इतिहासका पानाहरू पल्टाउँदा केहीले ब्रिटिशको सहयोगमा सत्ताको कुर्सी जोगाउन राष्ट्रिय झण्डा हल्लाए,केहीले दरबारको खुट्टा समातेर देशभक्तिको अभिनय गरे। झण्डा त्यतिबेला पनि सत्ताको आड थियो,आज पनि सत्ताको ढाल बनेको छ। र त्यही ढालको आडमा माटो बेचिन्छ, निष्ठा बेचिन्छ, अस्मिता बेचिन्छ।झण्डा हल्लाउँदै सिङ्गो राष्ट्रको स्वाभिमान बन्धक राख्नेहरू कहिल्यै देशभक्त हुँदैनन् । उनीहरू इतिहासका व्यापारी मात्र हुन्,जसले मातृभूमिको मुटुमा व्यापार गर्छन्।
अब हामीले नयाँ युगको घोषणा गर्नुपर्छ,जहाँ झण्डा पाखण्डको ढाल होइन,जनताको आत्मा बनोस्।जहाँ झण्डाको मूल्य भाषणले होइन,आचरणले तोकियोस्।जहाँ झण्डा हल्लाउने हात स्वच्छ होस्, जसमा कुनै बेइमानीको दाग नभेटियोस्। अब झण्डालाई अपराधीको काँधबाट हटाएर नागरिकको हृदयमा राख्ने परिपाटीको विकास हुन जरुरी छ। झण्डा कुनै दलको होइन,कुनै आन्दोलनको होइन,कुनै नेताको होइन। बरु यो त आम नेपालीको हो,जसले देश चलाउँछ। जसले झण्डालाई ढाल बनाउँछ,उसले विगत देखिनै देशको मुटुमा छुरा हान्दै आइरहेका इतिहास हाम्रो सामुन्ने थुप्रै छन् ।त्यसैले राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न राज्यले स्पष्ट कानून बनाउन जरुरी छ राष्ट्रिय झण्डाको प्रतीकात्मक गरिमा जोगाउन झण्डा बोकेर ढोंग गर्नेहरूलाई अपराधी ठहर गर्नुपर्ने जरुरी छ । झण्डा बोकेर सत्ता खोज्ने,झण्डा बोकेर देश बेच्ने,झण्डा बोकेर शहीदको रगत माथि नाच्नेहरू लाई ‘देशभक्त’ होइन ‘देशद्रोही’को अभियोग लगाएर कानुनी कठघरामा उभ्याउन सक्ने ल्याकत अबका राज्य संचालकहरुले राख्न सक्नु पर्छ। (लमही दाङ,हाल साउदी अरेबिया)



