हेमराज शर्मा दाङ २२ कार्तिक, प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिँदै गर्दा दाङमा उम्मेदवार बस्तीबस्तीमा चुनावी प्रचारप्रसारमा व्यस्त छन । चुनावी प्रचारप्रसारमा हिँडेका उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै आफ्ना योजना मतदातालाई सुनाउँदै मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई मतदानका लागि आग्रह गर्दै आएका छन ।
३ वटा संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दाङमा राजनीतिक दल र स्वतन्त्र गरेर ८९ जना उम्मेदवारहरु चुनावी मैदानमा छन । उम्मेदवारहरु आफ्ना एजेण्डा लिएर जनताको घरदैलोमा पुग्ने तथा आफ्नो पक्षमा मतदान गर्नका लागि आग्रह गर्ने गरेका छन ।
निर्वाचन प्रचारप्रसारका क्रममा मतदातालाई रिझाउनका लागि कतिपय उम्मेदवारले भने मतदातालाई काममा सहयोग गरेको अभिनय गर्नका लागि धान काट्ने, खोत जोत्नेदेखि खन्ने काम समेत गरिररहेका छन ।
चुनावी प्रचारप्रसारसँगै राजनीतिक दलले मतदान गर्ने तरिका र चुनाव चिह्नको विषयमा मतदाताहरुलाई जानकारी गराउँदै भोट माग्ने क्रम जारी रहेको छ । मतदाता भेटघाटका क्रममा उम्मेदवारहरुले जनताका समस्या समाधान गर्ने गरी आफ्ना कुरा राख्नेदेखि पाँच वर्षको अवधिमा आफू र आफ्नो पार्टीले खेलेको भूमिका समेत जनतालाई राख्ने गर्दै आएका छन ।
दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवारको रुपमा रहेका एकीकृत समाजवादीका नेता एवं सहरी विकास मन्त्री मेटमणि चौधरी, एमालेकी उम्मेदवार शान्ता चौधरी, पूर्व सांसद गंगा चौधरी, रुक्मिनी चौधरीलगायतका उम्मेदवारहरु हुनुहुन्छ ।
गंगा हाम्रो नेपाली पार्टी र रुक्मिनी संघीय लोकतान्त्रिक थारुहट पार्टीबाट उम्मेदवार बन्नु भएको छ । दाङ क्षेत्र नम्बर २ मा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्मा र नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि चुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । मतदाता भेटघाटका लागि उम्मेदवारहरु घरघर पुग्ने र नमस्कार गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन ।
त्यसैगरी क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र नेकपा एमालेबाट उम्मेदवार बनेकी कोमल वली चुनाव प्रचारप्रसारका क्रममा दिनहुँ मतदातालाई भेटेर आफ्ना कुराहरु राख्दै आउनु भएको छ