दाङ २, कार्यक्रम गर्न नसकेर हैरानी व्यहोर्दै शंकर पोख्रेल

दाङ ,१ मंसिर
मंसिर ४ नजिकिदै जाँदा देशभर निर्वाचनको माहोल तातिएको छ । निर्वाचनको पुर्वसन्ध्यामा दल तथा उम्मेदवार मतदातासँग भोट माग्नका लागि तछाडमछाड गरिरहेका छन् । निर्वाचनमा गर्माएको माहोलले दाङ २ लाई पनि छोडेको छैन् । एकातर्फ बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट बलियो अंकगणित सहित निर्वाचन आफ्नो पक्षमा पार्नका लागि माओवादी केन्द्रकी नेतृ रेखा शर्माले आफ्नो दबदबा बढाउदै लगेकी छन् भने अर्कोतर्फ एमालेका महासचिव शंकर पोख्रेलले पनि निर्वाचनको तयारी लाई व्यापक बनाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बजिरहेको घण्टीले पनि गठबन्धन र एमाले दुवै तर्फ चिन्ता थपिएको छ । दाङ २ मा निर्वाचनको प्रतिष्पर्धा रोचक बनिरहँदा फिल्डमा देखिएको दृश्य भने झनै रोचक छ ।
शंकरकै गाउँमा कार्यक्रम गर्न एमाले असफल
दाङ २ मा यसपटक माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी विश्वासपात्र पुर्वमन्त्री रेखा शर्मा र एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र मानिने मुख्यमन्त्री समेत भइसेकेका एमाले महासचिव रेखा शर्मा बीच हेवीवेट प्रतिस्पर्धाले ठुला ठुला आमसभा आयोजना गरिने प्रमुख दलका नेताहरु समेत ति सभालाई सम्बोधन गर्न आउने आंकलन गरिएको थियो । तर निर्वाचनको पुर्वसन्ध्यासम्म आइपुग्दा पनि दुवैतर्फबाट त्यस्ता ठुला आमसभा आयोजना गरिएका छैनन् । एमाले गठबन्धन दुवैले घरदैलो र स—साना आमसभा मार्फत मत माग्ने प्रयास गरिरहेका छन् । निर्वाचन घोषणा भएको शुरुवाती चरणमा एमालेले गठबन्धन दलबाट आफ्नो पार्टी प्रवेश गराउने लहर पनि व्यापक मात्रामा चलाएको थियो । तर निर्वाचन नजिकिदै गर्दा भने एमालेले कैयन स्थानमा कार्यक्रम गर्न नसकेर हैरानी व्यहोर्नु परेको छ । २ नम्बर निर्वाचन क्षेत्रमा पर्ने तुलसीपुर उपमहानगरपालिका भित्रका ४ वटा वडा मिलाएर बुधबार हेमन्तपुरमा कार्यक्रम गर्ने एमालेको योजना थियो । कार्यक्रमका लागि भनेर बुधबार बिहान ७ बजेसम्म एमालेले माइकिङ समेत गरेको थियो । तर कार्यक्रममा जनताको न्युन उपस्थिति देखिने भएपछि सो स्थानमा एमालेले तय गरेको कार्यक्रम स्थगित गर्यो । स्मरण रहोस सो क्षेत्र शंकर पोख्रेलको आफ्नो गाउँ पनि पर्दछ ।
अन्य स्थानमा पनि हैरानी
पछिल्लो समय २ नम्बर निर्वाचन क्षेत्रका धेरै स्थानमा एमाले कार्यक्रम समेत पनि आयोजना गर्न नसकेर पछाडी हट्नु परेको छ । गत शुक्रबार घोराही उपमहानगरपालिका १२ मा एमालेले कार्यक्रमको आयोजना गरेको थियो । तर सो स्थानमा पनि जनताको न्युन उपस्थिति हुने देखिएपछि एमाले कार्यक्रम स्थगित गरेर पछि हट्नुपर्यो । सो दिन एमालेको तर्फबाट दाङ २ (२) मा उम्मेदवार रहेका गिरिराज केसी समेत कार्यक्रम स्थल पुगिसकेका थिए । तर शंकर पोख्रेल जनमास नजुटेपछि सो स्थानमा गएनन् । “तयारी गरिएको कार्यक्रम पनि स्थगित गरियो । स्रोतले भन्यो “जनमास नजुटेपछि शंकर पोख्रेलले पनि कार्यक्रममा आएनन्। शंकर नआउने भएपछि गिरिराजका लागि मात्र कार्यक्रम आयोजना गर्दैनौं भने स्थानीय कार्यकर्ताले भने । पछि उम्मेदवार गिरिराज रिसाएर र्फिर्कए ।” एमालेले यि दुई स्थानमा मात्र नभई अन्य ठाउँमा समेत तय गरिएका कार्यक्रम स्थगित गर्नुपरेको छ । निर्वाचनको पुर्व सन्ध्यामा तुलसीपुर १९ को कुटीचौर, घोराहीको १३ नम्बर वडा, घोराहीको माथिल्लो ललौरा लगायतका स्थानमा तय गरिएका एमालेका कार्यक्रम जनताको उपेस्थिति नहुने देखिएपछि स्थगित भएका छन्
गठबन्धको पक्षमा दिनदिनै याली र कार्यक्रम 
निर्वाचन नजिकिदै गर्दा कार्यक्रम गर्न नसकेर एमालेले हैरानी व्यहोर्नुपरेको छ भने अर्कोतर्फ गठबन्धनको पक्षमा भने दिनैजसो रयाली तथा आमसभाहरु भइरहेका छन् । एमालेले तयारी गरेर पनि कार्यक्रम स्थगित गर्नु परेको तुलसीपुरको हेमन्तपुरमा गठबन्धले हजारौंको संख्यामा भव्य कार्यक्रमको आयोजना गर्यो । यस्तै घोराहीमा २९ गते वडा स्तरीय रयाली तथा घरदैलो एवं ३० गते महिलाहरुले गठबन्धनका पक्षमा हजारौंको संख्यामा ¥याली निकालेका छन् । गठबन्धनका चुनावी कमाण्डर हेमराज शर्माले गठबन्धनले दैनिक जसो २० देखी ३० वटा सम्म साना ठुला कार्यक्रम आयोजना गरेर मतदातासम्म पुगिरहेको बताए ।