आमनागरिकको दह्रो साथ चाहिन्छ,भ्रष्टाचारका थप फाइल खुल्ने वाला छन् ः प्रचण्ड

१४ साउन काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका थप फाइल खुल्दै जाने दाबी गर्नुभएको छ । आज आइतवार काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार विरुद्धको अभियानमा अहिले नागरिक तहबाट पाएको साथले सरकारको मनोबल बलियो भएकाले थप फाइल छिटै खुल्ने बताउनु भएको हो । उहाँले भन्नुभयो– ‘युवा तहबाट सरकारले अभियानमा जुन समर्थन पाएको छ,आउने दिनमा अरू फाइल खुल्दै जानेवाला छन् ।’ सरकारले भ्रष्टाचारका फाइल खुलाउँदै जाँदा विभिन्न ठाउँबाट अवरोध आइरहेकाले सरकारलाई समर्थन र साथ आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
आम नागरिकले साथ नदिइकन भ्रष्टाचारविरुद्धको यो लडाइँ सरकार एक्लैले जित्न नसक्ने भन्दै उहाँले सरकारले लिएको लक्ष्यमा विजयी हुने गरेर साथ दिन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावना अनुरूप बदलिएको व्यवस्था अनुसार नागरिकको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता सहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको दाबी गर्नुभयो ।