साउन ३१ दाङ, माओवादी केन्द्रले घोषणा गरेको ‘जनतासँग माओवादी रूपान्तरण विशेष’ तीन महिने अभियानलाई कार्यान्वयनमा लैजान लुम्बिनी प्रदेशको बैठक सम्पन्न भएको छ । प्रदेश राजधानी राप्ती उपत्यकामा साउन ३० र ३१ गते बसेको माओवादी केन्द्रको प्रदेश समितिको चौथो बैठकले अभियानलाई प्रभावकारी बनाउन १२ लक्ष्य र १२ उदेश्य तय गरी कार्यविधि निश्चित गरेको छ ।
प्रदेश अध्यक्ष सुर्दशन बरालको अध्यक्षता र केन्द्रिय सचिव प्रदेश इन्चार्ज हितमान शाक्यको आतिथ्यतामा बसेकोे लुम्बिनी प्रदेश बैठकले १२ जिल्लाका १०९ पालिकाहरुमा पार्टी संगठन सुदृढ गर्ने,९८३ वडाहरुमा पार्टी संगठन सुदृढ एवं विस्तार गर्ने, हजारौ पार्टी सदस्यहरुलाई परिचालन गर्ने र लाखौ जनतामा पुग्ने योजना सहित अभियानलाई तीन चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ । पहिलोचरणमा आन्तरिक तयारीलाई भाद्र १–१५ भित्र सम्पन्न गर्ने । दोश्रो उद्घाटन र वामअफलाई भाद्र १६–२५ भित्र सम्पन्न गर्ने । तेश्रो निरन्तरता र उत्कर्षलाई भाद्र २६ देखि मंसिर १५ मा सम्पन्न गर्ने गरी प्रदेशले तयारी योजना बनाएको छ ।
अभियानमा प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु आफनो जिल्लाबाट अर्को जिल्लामा गएर पालिकाको नेतृत्व गर्ने छन भने प्रदेश सदस्यहरुले वडाको नेतृत्व गरी अभियान टिम निर्माण गर्ने छन । अभियानमा पार्टीका सबै संरचनाहरुलाई परिचालन गरी ‘घर,घरमा माओवादी जन,जनमा माओवादी’को नारालाई सार्थक बनाइने दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले बताउनु भयो । नेताहरु फेरबदल भए अनुसार दाङमा स्थायी समिति सदस्य जयपुरी घर्तीले अभियानको संयोजन गर्नु हुनेछ भने केन्द्रिय सदस्य निर्मल आचार्य प्युठानमा गएर अभियानको संमायोजन गर्नु हुने छ । बैठकलाई पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले सम्बोधन गदैं पार्टी संगठनलाई बलियो बनाउँदै जनताको दैनिक समस्यासँग नजिक हुन कार्यकर्तालाई दिशानिर्देश गर्नु भएको थियो । बैठकमा १२ जिल्लाका अध्यक्षहरुले राय,सुझावहरु राख्दै रिपोटिङ् गरेका थिए ।