समाजवादी मोर्चाले सात प्रदेशमा सभा गर्ने

भाद्र ४, काठमाडौं । ४ दलीय समाजवादी मोर्चाले सातै प्रदेशमा सभाको आयोजना गर्ने भएको छ । सोमबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेशस्तरमा घोषणासभा गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले मोर्चाको बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी बनाएर लैजाने बारेमा छलफल भएको बताए । उनले भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो–‘छलफल राम्रो भयो, तरंगमय वातावरणमा मोर्चा घोषणा भएको थियो । समय लम्बिँदा बाहिर के हो ? के हो ? भन्ने थियो । हामीले ८ गतेदेखि प्रदेशस्तरको घोषणासभा गर्ने निर्णय गरेका छौं । भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको छ ।’
बैठकपछि बोल्दै नेकपा (एकीकृत समाजवादी) का नेता प्रमेश हमालले घोषणासभा ८ गते मधेश प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको बुटवल, १३ गते सुदूरपश्चिमको धनगढी, १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते वाग्मतीको हेटौंडा र २५ गते कोशीको विराटनगरमा घोषणासभा गर्ने बताउनुभयो । उहाँले बैठकमा समसामयिक राजनीति र समाजवादी मोर्चाको भूमिकाको बारेमा छलफल भएको पनि बताए । प्रदेश घोषणासभामा प्रदेशका लागि समाजवादी मोर्चाको संयोजक तोक्ने निर्णय भएको पनि उहाँले बताउनु भयो ।
बैठकमा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, समाजवादी मोर्चालाई शक्तिको रुपमा विकास गर्नुपर्छ र समाजवादी आन्दोलन अघि बढाउनुपर्छ भन्ने कुरामा छलफल भएको छ । मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।