घोराही, ५ भदौं । अखिल (क्रान्तिकारी) ले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगले खुलाएको उपप्रध्यापक तथा कर्मचारीहरुको छनोटका लागि निर्धारण गरिएको परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महरा, नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय समितिका प्रमुख सचिव अभयप्रताप चौबे र अखिल (क्रान्तिकारी) केन्द्रिय आयुर्वेद विद्यापीठका अध्यक्ष गणेश पौडेलले विज्ञप्ति निकालेर गैरजिम्मेवार कार्य गर्ने पदाधिकारीले नैतिकताको आधारमा तत्काल राजीनामा दिन माग गरिएको छ ।
प्रेस विज्ञप्तिको पूर्णपाठ
नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगले खुलाएको उपप्रध्यापक तथा कर्मचारीहरुको छनोटका लागि निर्धारण गरिएको परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको घटनाप्रति हाम्रो संगठन अखिल (क्रान्तिकारी) को गम्भीर ध्यानाकर्षण भएको छ । सेवा आयोगको यस प्रकारको गम्भीर लापरवाही प्रती हामी घोर भर्त्सना गर्दछौं । आफू निकटका व्यक्तीहरुलाई जागिर खुवाउने नियतका साथ प्रश्नपत्र बाहिरिने गम्भीर नीतिगत सङ्गठित अपराध भएको अखिल (क्रान्तिकारी को ठहर रहेको छ । यसै सन्दर्भमा यस कार्यमा संलग्न व्यक्तिहरू र संरक्षणकर्ताहरुमाथि तत्काल पक्राउ गरि कारवाही प्रक्रिया अगाडि बढाउन माग गर्दै संगठनले ने.सं. वि. सेवा आयोग र केन्द्रिय कार्यालय बेलझुन्डीमा २०८०÷०५÷०४ गते देखि अनिश्चित कालका लागि तालाबन्दी गरेको छ ।
प्रश्नपत्र बाहिरिएको जस्तो गम्भीर अपराध हुँदा समेत विश्वविद्यालय पदाधिकारीहरू मुकदर्शक भएर वस्तु निर्लज्जताको पराकाष्ठा हो ।
कुनै पनि बहानामा संस्थाको अधिकारलाई अन्यत्र लगेर बुझाउने कर्मचारी, प्राध्यापक, पदाधिकारी सोही संस्थामा रहेर विश्वविद्यालयको सेवा उपभोग गर्नु लज्जास्पद र निन्दनीय रहेको ठहर गर्दै विश्वविद्यालयको ऐन नियम विपरीत विश्वविद्यालय सेवा आयोगको सर्वाधिकार लोक सेवा आयोगलाई सुम्पनु जस्तो गैरजिम्मेवार कार्य गर्ने पदाधिकारीले नैतिकताको आधारमा तत्काल राजीनामा दिन जोडदार माग गर्दछौं । सेवा आयोगको काम कारवाही लोकसेवा आयोगलाई दिने हो भने सेवा आयोगको औचित्य नरहेको प्रष्ट पार्दै तत्काल खारेज गर्नका लागि गम्भीर ध्यानाकर्षण गराउँदछौं ।
अभयप्रताप चौबे
प्रमुख सचिव – (नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय समिति)
गिरबहादुर महरा
संयोजक – अखिल (क्रान्तिकारी) दाङ
गणेश पौडेल
अध्यक्ष –अखिल (क्रान्तिकारी) केन्द्रिय आयुर्वेद विद्यापीठ
२०८० भाद्र