चार्जिङ स्टेशन बढेसँगै विद्युतीय सवारीमा बृद्धि

१३ भदौं दाङ, नेपाल विद्युत प्राधिकरणले ठाउँ–ठाउँमा चार्जिङ स्टेसन राख्न थालेपछि विद्युतीय गाडी प्रयोग गर्नेको संख्या बढ्न थालेको छ । लुम्बिनी प्रदेशभित्र पूर्व–पश्चिम राजमार्गमा रूपन्देहीको बुटवल, दाङको लमही र बाँकेको कोहलपुरमा चार्जिङ स्टेशनहरु रहेकाछन् ।
यी स्टेशनमा सामान्य अवस्थामा प्रति युनिट ६ रुपैयाँ शुल्क लाग्छ । बेलुका केही घण्टा प्रति युनिट ८ रुपैयाँ र राति १२ बजेदेखि बिहान ५ बजेसम्म प्रति युनिट १२ रुपैयाँ शुल्क लाग्छ । घरमा ७ एम्पियर क्षमताले कार चार्ज गर्दा पूरा चार्ज हुन ७ घन्टा लाग्छ भने स्टेसनमा २२ एम्पियरको चार्जरले डेढ घन्टामा र ४४ एम्पियरकोले ४५ मिनेटमा पूरा चार्ज हुन्छ ।
तुलसीपुरमा सार्वजनिक यातायातमा विद्युतीय गाडी देखिन थालेका छन ्। तुलसीपुरका व्यवसायी विमल पौडेलले सार्वजनिक यातायातमा दुई वटा विद्युतीय माइक्रो बस चलाएका छन् । उनका अनुसार अन्य व्यवसायीसँग समेत गरी हाल तुलसीपुरमा यस्ता गाडी नौवटा छन ्। ती सबै गाडी ‘त्रिसिद्धेश्वरी यातायात प्रालि’ अन्तर्गत चलेकाछन ्।
विमलको एउटा विद्युतीय गाडी दैनिक दाङको तुलसीपुरबाट नेपालगञ्जसम्म र अर्को गाडी तुलसीपुरबाट बुटवलसम्म चलेको चार महिना भयो । तुलसीपुर–नेपालगञ्ज ११६ किलोमिटर र तुलसीपुर–बुटवल १७५ किलोमिटर दूरी छ । विमलका दुई वटै गाडी रातको समयमा अक्सर घरमै चार्ज गर्छन् । स्टेसनमा पूरा चार्ज गर्दा नेपालगञ्ज जाने गाडीका लागि बढीमा एक हजार रुपैयाँ र बुटवल जाने गाडीका लागि बढीमा १५ सय रुपैयाँ चार्जिङ खर्च लाग्छ ।
विद्युतीय गाडी चलाउँदा खनिज इन्धन किन्न विदेश जाने पैसा कटौती हुने र वातावरण संरक्षणमा सहयोग पुग्ने विमलको भनाइ छ । ‘विद्युतीय गाडी वातावरणका लागि उपयुक्त छन् । इन्धनको खर्च व्यापक कटौती हुन्छ,’ उनी भन्छन्, ‘डिजेल–पेट्रोल किन्न विदेशलाई तिर्नुपर्ने पैसा जोगिन्छ । यात्रुको भाडामा पनि सहुलियत हुन्छ ।’
अनुभवीहरूका अनुसार सुरूमा विद्युतीय गाडी खरिदमा केही बढी खर्च परे पनि कालान्तरमा सस्तो पर्छ । इन्धनमा पैसा बचत हुने भएपछि खर्च घटेर फाइदा हुन्छ ।
विमल भन्छन्, ‘विद्युतीय गाडी समयको माग हो। यस्ता गाडीको प्रयोग बढाउन ठाउँठाउँमा चार्जिङ स्टेसन राख्नुपर्छ ।’
नेपाल विद्युत प्राधिकरणले दाङको लमहीमा राखेका दुई वटा चार्जिङ स्टेसन गत जेठदेखि चलेका हुन् । लमही नगरपालिकाको बसपार्कमा एसियाली विकास बैंक र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा करिब डेढ करोड रुपैयाँमा चार्जिङ स्टेशन राखेको कुरा प्राधिकरणको लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछाने बताए ।
उनका अनुसार दुई वटा स्टेसनमा एक साथ ६ वटा गाडी चार्ज हुने सुविधा छ । हाल दैनिक १८ वटासम्म गाडीले चार्जिङ सेवा लिने गरेका छन ।
दाङमा पाँच वर्षअघि विद्युतीय रिक्सा ल्याउन सुरू भएको थियो । हाल दाङमा यस्ता रिक्साको संख्या तीन हजार ७०० नाघेको छ । व्यक्तिहरूले विद्युतीय स्कुटरको प्रयोग सुरू गरेका छन् । यातायात व्यवस्था कार्यालय, तुलसीपुरका प्रमुख रमेश गौतमका अनुसार उक्त कार्यालयमा हालसम्म ६२ वटा विद्युतीय स्कुटर दर्ता भएका छन् ।