एमसीसी कार्यान्वयनमा आशंका नगर्न सरकारको आग्रह

भदौ १३,काठमाडौं, सरकारले एमसीसी कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले एमसीसी कार्यान्वयनका विषयमा आशंका नगर्न आग्रह गर्दै १२ बुँदे व्याख्यात्मक घोषणा कार्यान्वयन मुख्य विषय भएको बताउनु भएको छ ।
विस्तृत छलफलपछि सदनबाट १२ बुँदे व्याख्यात्मक घोषणा नै पारित गरिसकेको अवस्थामा यसलाई व्याख्यात्मक घोषणासहित कार्यान्वयन गरिने उहाँले बताउनु भयो। एमसीसीका विषयमा कुनै समस्या आए पुनः छलफल गरेर समाधान गरिने सरकारका प्रवतmा शर्माले बताउनु भयो ।

त्यस्तै प्रवक्ता शर्माले चीनले सार्वजनिक गरिएको नक्सामा नेपालको पुरानै नक्सा राखिएको विषयमा कुटनीतिक ढंगले नै कुराकानी गर्नुपर्ने बताउनु भयो।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८० को म्याद एक महिना थप गर्ने निर्णय भएको जानकारी गराउनु भयो। त्यस्तै भूमि व्यवस्था मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्न ३८ राजपत्रांकित अधिकृतस्तरका अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताउनु भयो।