२६ लाख नगद सहित दाङका कर अधिकृत पक्राउ

भदौं,२५ दाङ– स्रोत नखुलेको रु २६ लाख नगदसहित आन्तरिक राजस्व कार्यालय, तुलसीपुर दाङका अधिकृत खगेन्द्र सापकोटा नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका छन् । नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई सोमबार बिहान नियन्त्रणमा लिएको हो ।
विमानस्थल प्रहरी स्रोतकाअनुसार उनी आज बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगन्जबाट काठमाडौं जाने तयारीमा थिए । सापकोटासँगै रहेका आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल भने फरार भएको बाँके प्रहरीले जनाएको छ ।
उनको खोजीको लागि अहिले विमानस्थल क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । पक्राउ परेका सापकोटालाई अहिले जिल्ला प्रहरी कार्यालय, बाँकेमा राखिएको छ । बरामद भएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।