२६ भदौं काठमाण्डौं, संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले जानकारी दिए ।
संविधान सभाका अध्यक्ष समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली राजनीतिक वृत्त स्तब्ध भएको छ । नेम्वाङको निधनप्रति नेपालका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दुस्ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रपति पौडेल,प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवाले नेम्वाङको निधनले मर्माहत बनाएको बताउँदै श्रद्धाञ्जली अर्पण गरेका छन् । यस्तै, नेकपा एमालेका नेताहरू प्रदीप ज्ञवाली नेम्वाङको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताएका छन् भने महेश बर्तौलाले मियो गुमाएको बताएका छन् ।
दिवंगत नेम्वाङलाई श्रद्धाञ्जली दिने शीर्ष नेताहरू त्रिवि शिक्षण अस्पतालमै पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड,एमाले अध्यक्ष केपी शर्मा ओली,सभामुख देवराज घिमिरे,राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका साथै एमाले नेताहरू अस्पतालमा छन् ।