१७ असोज दाङ– दाङमा मंगलबार देखि लगातारको झरी बर्षा भइरहेको छ । बर्षातका कारण पाकेको धान भित्रयाउन ठिक्क परेका किसान चिन्तित बनेकाछन । धान पाकेर काट्न ठिक्क परेका किसानलाई झरीले समस्यामा पार्न थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाले अझैं तीन चार दिन पानी पर्ने जनाएपछि कृषि मन्त्रालयले धान नकाट्न किसानलाई अनुरोध गरेको छ । अहिले दाङ जिल्लाको देउखुरी उपत्यकामा धान काट्ने तयारी भइसकेको छ । केही किसानले धान भित्रयाएपनि ठूलो मात्रामा धान काट्न बाँकी रहेको छ ।
पानीले काटिसकेको धानमा क्षति गर्नसक्ने राप्ती गाउँपालिका कृषि शाखाका प्रमुख सीमा भट्टले जानकारी दिइन् । उनका अनुसार किसानलाई धान नकाट्न भनिएको थियो। अहिले केही किसानले खेतमै त्रिपाल टाँगेर धान ढाकेका छन् भने केही किसानले काटेको धान दाँइसकेका छन् । सोमबारसम्म धान काटेका किसानले भने धान सुरक्षित गर्न सकेका छैनन्। खेतमा गरामा काटिएको धान भिजेको छ । पानीका कारण मानिसहरुले तोरी छर्न र आलु लगाउन सकिरहेका छैनन् ।
जिल्लामा ६५ हजार ९ सय ८० हेक्टर जमिन खेतीयोग्य छ । जसमध्ये ३० हजार ४ सय हेक्टर जमिनमा धान खेती हुने गरेको छ । जिल्लामा ३० प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको ज्ञान केन्द्रले जनाएको छ । १९ हजार ६ सय ५१ हेक्टर जमिनमा पूर्णरुपमा सिँचाइ सुविधा पुगेको छ भने बाँकी ३९ हजार दुई सय ११ हेक्टर जमिनमा आंशिक सिंचाइको व्यवस्था छ ।
दाङमा लगातारको भारी बर्षा,धान काट्ने किसान चिन्तामा
ट्रेन्डिङ