दाङ,१ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताउनुभएको छ । मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने धारणा राख्नुभयो ।
कसैले राजनीतिको माध्यामबाट र कसैले अन्य माध्यामबाट मानव सेवा गरिरहेको भएपनि सडकमा अलपत्र नागरिकलाई उद्धार गरेर स्याहार र उपचार गर्नु मानव सभ्यताका हिसाबले पनि सर्वोत्तम सेवा भएको मन्त्री शर्माको धारणा थियो । कुनै पनि नागरिक सडकमा अलपत्र नहोस भनेर सरकार लागिरहेको उल्लेख गर्नु हुँदै उहाँले जनस्तरबाट सञ्चालित संस्थाहरुबाट मानवीय सेवा कार्यक्रम सञ्चालन गर्दा राज्यलाई फाइदा पुगेको बताउनु भयो ।
मानव सेवाको पक्षमा सञ्चालित अभियानहरुमा सरकारसहित सबैले सहयोग गर्नुपर्नेमा पनि मन्त्री शर्माले जोड दिनुभयो । पछिल्लो समय जन्मदिन, बिवाह, बुवाआमाको सम्झना आदिमा दान सहयोग गर्ने प्रचलन बढ्नु राम्रो भएको उल्लेख गर्नुहुँदै उहाँले पुग्नेबाट लिएर अभावमा रहेकालाई सहयोग गर्नु सामाजिक न्यायका दृष्टिले पनि उपयुक्त हुने बताउनु भयो ।
मानिस गरिबीका कारणले भन्दा पनि बढी पारिवारिक हिंसाका कारणले घर छाडेर सडकमा निस्कने गरेको उल्लेख गर्नुहुँदै उहाँले हरेक घर परिवारलाई हिंसारहित बनाउन जोड दिनुपर्ने र पीडितलाई मनोसामाजिक परामर्श पनि दिनुपर्ने बताउनु भयो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष दीपक पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेवाघरको सेवाको बारेमा समाजका केन्द्रीय सचिव विजयकुमार पोख्रेलले जानकारी गराउनु भएको थियो । हुने बाट सहयोग,नहुनेलाई उपयोग भन्ने नाराका साथ सञ्चालित सेवा घरमा हाल ४२ जना असहाय र बेसहारा नागरिक राखिएको छ । सडकपेटी तथा अन्य स्थानमा बेसहारा जीवन विताइरहेका नागरिकको उद्वारगरी सेवाघरमा स्याहार र उपचार गर्ने गरिएको छ । समाजले देशभर ७ वटा शाखा मार्फत ४ सय पचास जना बेसहारा नागरिकलाई सहारा दिइरहेको छ ।
मानव सेवा नै सर्वोच्च सेवा ः मन्त्री शर्मा
ट्रेन्डिङ