काठमाण्डौं २५ पुस, जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ३ लाख जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन भराउन आदेश गरेको छ ।
यही पुस १३ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई किशोरी बलात्कार मुद्दामा दोषी ठहर गर्दै फैसला सुनाएका थिए । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि त्यतिबेलै आजको लागि पेसी तोकिएको थियो।
पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर उनले किशोरीलाई बलात्कार गरेको अदालतको ठहर छ । किशोरीको उमेर भने १८ वर्ष पुगेको अदालतले मानेको छ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा त्यसभन्दा बढी उमेरकी महिला पीडित भए ७ देखि १० वर्षसम्म कैद हुन व्यवस्था छ । गौशाला २६ नाम दिइएकी ती किशोरीलाई काठमाडौँको सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको अभियोग लामिछानेलाई लागेको थियो ।