बिजौरी, दाङमा पहिलोपटक देशकै दोस्रो लामो जिपलाइन सञ्चालनमा आउन थालेको छ । २०७८ साल जेठदेखि निर्माण शुरु गरेको जिपलाइन सञ्चालनको अन्तिम तयारी रहेको छिल्लीकोट रिसोर्ट एण्ड थ्री स्टार कम्पनीले जनाएको छ ।
कम्पनीका सञ्चालक शिव श्रेष्ठका अनुसार ९५ प्रतिशत काम पूरा भएको र अब ५ प्रतिशत बाँकी रहेको हुँदा चैते दशैँका दिन उद्घाटन गरेर सञ्चालनमा ल्याउने तयारी रहेको छ । उनले भने, ‘निर्माण शुरु भएको करिब ३ वर्ष हुन लाग्यो । विभिन्न अवरोध र प्राविधिक समयमा नआउँदा एक वर्ष ढिला भयो । चैते दशैँमा सञ्चालन गर्ने तयारीमा छौँ ।’ उनका अनुसार जिपलाइनमा अहिलेसम्म १ करोड ३० लाख लगानी भएको छ ।
छिल्लीकोट ऐतिहासिक, पौराणिक तथा धार्मिक ठाउँ भएको हुँदा र यहाँबाट विभिन्न हिमाल तथा दाङको समतल भूमि देखिने भएकाले यसलाई पर्यटकीय रूपमा विकास गर्न आफूहरूले जिपलाइन सञ्चालनमा ल्याएको उनको भनाइ छ । उनका अनुसार छिल्लीकोटमा बाइसे, चौबीसे राजाहरूको राज्य भएको ठाउँ हो । जिपलाइनसँगै छिल्लीकोटमा १० कठ्ठा जग्गा लिएको र रिसोर्ट बनाउने योजना रहेको पनि उनले बताए । उनले पर्यटकहरूको अवस्था हेरी छिल्लीकोटमा तीन तारे होटल बनाउने योजना रहेको र त्यसका लागि स्वीकृति लिइसकेको बताए । जिपलाइनको दूरी करिब १ हजार २ सय मिटरको रहेको छ ।
कालिका मन्दिरबाट शुरु हुने र भुल्के सामुदायिक वनको चोरकाटेमा ल्यान्डिङ हुने गरी निर्माण गरिएको उनले बताए । यो दूरी पार गर्न प्रति घण्टा ८० को गति रहेको र बढीमा २ मिनेटमा पार गरिन्छ । उनका अनुसार जिपलाइन देशका विभिन्न ठाउँमा रहेको र त्यहाँ प्रयोग गर्न २–३ हजारसम्म शुल्क रहेको उनले बताए । यसको क्षमता १५० किलोग्रामसम्म रहेको छ ।
परीक्षण गरेको जिपलाइन संन्चालनमा आएपछि छिल्लीकोटको विकासमा सहयोग पुग्ने त्यहाँका बासिन्दाहरुले अपेक्षा राखेकाछन । छिल्लीकोटमा अहिले भ्यूटावर, मन्दिर लगायतका संरचना छन् । गाउँमा १० वटा होमस्टे सञ्चालनमा छन् । जिपलाइन सञ्चालन भएपछि आफूहरूलाई थप फाइदा हुने स्थानीय जीवराज रेउलेले बताए । छिल्लीकोटसम्म आउँन सडक राम्रो हुनुपर्ने उनको कथन छ ।