उदासीलाई वौद्धिक प्रतिभा पुरस्कार

राप्तीकै पुरानो पुस्तकायलय सर्वोदय पुस्तकालय तथा वाचनालय घोराहीमा स्थापना भएको वौद्धिक प्रतिभा पुरस्कार वरिष्ठ साहित्यकार डा. टीकाराम उदासीलाई प्रदान गरिएको छ । बुधबार राष्ट्रिय पुस्तक दिवसको अवसरमा सार्वोदय पुस्तकायल तथा वाचनालय घोराहीले एक कार्यक्रमको आयोजना गरी उदासीलाई पुरस्कार प्रदान गरेको हो ।

एक वर्ष पहिले पुस्तक तथा स्टेसनरी व्यवसायी समिति दाङले स्थापना गरेको वौद्धिक प्रतिभा पुरस्कारको अक्षयकोषबाट पहिलो पटक साहित्यकार उदासीलाई पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार एवं साहित्यकार नारायणप्रसाद शर्मा लगायतका अतिथिहरुले सम्मान पत्र, खादा, अविर र नगदसहित पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा पुरस्कृत साहित्यकार डा.उदासीको बारेमा जानकारी दिदै साहित्यकार पद्मप्रसाद शर्माले रोल्पामा जन्मिएका उदासी साहित्यिक क्षेत्र र शिक्षा क्षेत्रका उदाउदा प्रतिभा भएको बताएका थिए । सो अवसरमा राप्ती साहित्य परिषदका पूर्वकेन्द्रिय अध्यक्ष पुरुषोत्तम खनाल, पुस्तक तथा स्टेसनरी व्यवसायी समिति दाङका अध्यक्ष केशव सुवेदी, साहित्यकारहरु कमलमणि देवकोटा, हेमलाल पन्थी, खगराज न्यौपाने लगायतले शुभकामना दिएका थिए।
सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार डा. सुदीय गौतमले गरेका थिए ।