बाढी–पहिरोबाट कसरी जोगिने ? यस्ता छन् प्रहरीका सुझाव

काठमाडौं– मनसुन सुरु हुनासाथ देशका विभिन्न स्थानमा बाढी पहिरोले भौतिक तथा मानवीय क्षति पुर्‍याइरहेको छ । यो बर्ष अहिलेसम्म बाढी र पहिरोले २ सय बढिको ज्यान गइसकेको छ । हिजो मात्र सोलुखुम्बुको खुम्बु, पासाङल्हामु गाउँपालिका– ५ थामे खोलामा लेदो सहितको बाढी एक्कासी उल्र्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्य चौकीमा क्षति पुर्‍याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकीगरी २० घरमा क्षति पुगेको छ ।
विशेषगरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । बाढीले वर्षेनि तराई(मधेशका सयौँ घर डुबानमा पर्छन् । पहाडमा पनि पहिरोले घर बगाएर धेरै परिवार विस्थापित भइरहेका छन् । पहाडका कतिपय क्षेत्रमा घर पहिरोले बगाउँदा धेरै मानिसले ज्यान गुमाइरहेका छन्, अझै कयौँ बेपत्ता छन् ।

बाढीबाट कसरी जोगिने ?

– बर्खायाममा नदी तटीय क्षेत्रमा बस्न हुँदैन । आफ्नो गाउँघरको माथिल्ला भागमा गहिरो कुलो काटेर पानीको उचित निकास दिने गर्नु पर्छ ।

– गाउँमा बाढी आएको समय होचो भू–भागमा जानुहुँदैन ।

– बाढी आइरहँदा आसपासका क्षेत्रमा आवतजावत गर्नु हुँदैन ।

– बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर बाढीको जोखिम कता छ भन्ने जानकार लिन सकिन्छ ।

– मनसुन सुरु भएसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमी अपडेट गरिरहेको हुन्छ । सम्भव भएसम्म त्यो सूचना नियमित हेर्न र सुन्न आवश्यक छ ।

– सञ्चारमाध्यममा आएका ती सूचनालाई आधार बनाएर सतर्कता अपनाउनुपर्छ ।

– यी त भए तराई तथा समथर भूभागमा आउने बाढी तथा डुबानबाट बच्ने उपायहरू ।

– पहाडका क्षेत्रमा वर्षेनि आइरहने पहिरोबाट पनि बच्न सकिन्छ । त्यसका लागि पूर्वसतर्कता अपनाउन सकिन्छ ।

पहिरोबाट बच्ने उपायहरु

– आफ्नो गाउँघरका माथिल्ला भागबाट गहिरो कुलो काटेर पानीको निकास निकाल्नुपर्छ ।

(आफ्नो वरिपरिको जमिनमा गहिरो परेको देखिए सचेत पहिरो जान सक्नेतर्फ सचेत रहने ।

– ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालोमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ ।

– एक पटक पहिरो गएको स्थानमा फेरि बसोबास गर्नु हुँदैन ।

– पहिरोले घर बगाउँदा भौतिकसँगै मानवीय क्षति पनि हुने भएकाले २४ सै घण्टा पानी परिरहँदा सकेसम्म घरभित्र बस्नु हुँदैन ।

– पहाडका धेरै स्थानमा प्रायजसो रातको समय पहिरो जाने हुँदा घरमा बस्दा परिवारका सदस्य समूहमा बस्ने गर्दा राम्रो हुन्छ। समूहमा बस्दा एकअर्कालाइ सहयोग मिल्छ ।

– सम्भव भएसम्म सञ्चारमाध्यम र सूचना प्रवाह गर्ने निकायसँग नियमित सम्पर्कमा रहनुपर्छ । यसले उद्धारसँगै राहत वितरणमा सघाउ पुर्‍याउँछ ।