बजेट निर्माण बारे वडाध्यक्षको विमति

देउखुरी । लमही नगरपालिका वडा नं। ५ का अध्यक्ष ओमप्रसाद सुवेदीले नगरपालिकाको बजेट निर्माण प्रक्रियाप्रति असहमति जनाएकाछन ।
नगरको बजेट बाँडफाँड अनधिकृत व्यक्तिको सहभागितामा गरिएको प्रति उनले आपत्ति जनाएकाछन । चालू आर्थिक वर्षमा लमही नगरपालिकाले ८४ करोड ५१ लाख २४ हजार रुपैयाँको बजेट सभामा प्रस्तुत गरेको थियो । सोही बजेटको बाँडफाँडको क्रममा शहरी विकास मन्त्रालयबाट प्राप्त ७ करोड १३ लाख रुपैयाँको बजेट शीर्षकहरु संंशोधन गरेर बाँडफाँड भएको भन्दै आपत्ति जनाएका हुन । वडा नं. ५ मा बजेट केन्द्रित हुनुपर्ने भएपनि वडा बाहिर बजेट बाँडफाँड गरिएको प्रति उनको गुनासो रहेको छ। सामुदायिक विकास कार्यक्रम अन्तर्गत युवा केन्द्रित डिजिटल लाइब्रेरी, हाटबजार सुधार, सार्वजकि शौचालय, सामुदायिक वसपार्क सुधार,पार्क निर्माण,सडक संरचना निर्माण, ढल निर्माण, फोहरमैला व्यवस्थापन सम्बन्धी कार्य, सार्वजनिक पर्खाल निर्माण लगायतका शीर्षकमा खर्च गर्ने गरी बजेट प्राप्त भएको थियो । तर नगरपालिकाले बजेट बाँडफाँड गर्दा प्रक्रिया पालना नगरेको, वडा नं ५ मा बजेट विनियोजन गर्दा आफुसँग कुनै सल्लाह नगरिएको वडाध्यक्षले पत्रकार सम्मेलन मार्फत बताए ।