कमल फुलको सौन्र्दयले भरियो कमल दह

रुकुमपूर्व,रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुकुमकोटमा अवस्थित कमल दहमा कमल फुल्न थालेको छ । कमलदहमा रहेको कमल फुल्न थालेपछि दह सुन्दरताले भरिभराउ भएको छ ।

आजभोलि कमल फुलेकाले त्यहाँको दृश्य निकै मनमोहक बनेको छ । जेठको पहिलो सातादेखि कमलको बोट पलाउन सुरु गर्छ । असार महिनासम्म दह छेउछाउको भाग हरियो बन्छ । साउन महिनादेखि कमल फुल्न सुरु गर्छ । फूलसँगै हरियाली भने कात्तिकसम्मै रहन्छ । कमल दहको पानी सफा र निलो छ । मुहान पनि नदेखिने, पानी पनि नबग्ने कमल दहको अनौठो विशेषता छ ।सधैँ कञ्चन पानीको छाल अनि गृष्ममा फुल्ने कमलको मनमोहक आकर्षणले पर्यटकको मन लोभ्याउँछ । एक हजार सात सय वर्गमिटर भन्दा बढी क्षेत्रफलमा फैलिएको यो दहमा बाह्ै महिना ताल चरीहरू पौडिरहेका हुन्छन् । त्यसैले यो दह सदाबहार आकर्षणका रूपमा रहेको छ । कमलका जरा काँचै पनि खान सकिन्छ । यसलाई अचारको रूपमा पनि प्रयोग गरिन्छ ।

कमलको फूलदेखि जरासम्म सबै मानव स्वास्थ्यका लागि महत्वपूर्ण औषधिको रूपमा प्रयोग गर्ने गरिन्छ । कमलका जरा नियमित सेवन गरेमा जन्डिस रोग निको हुने स्थानीयको भनाइ छ । कलमका जरा निकाल्नका लागि हरेक वर्ष चैत्र र वैशाख महिनामा गाउँपालिकाले टेन्डर मार्फत ठेक्का आह्वान गर्दछ । ठेकेदारले जरा निकाल्नका लागि निश्चित मापदण्ड तोकेअनुसार कमलका जरा निकाल्ने गरिन्छ । जिल्लाकै मुख्य पर्यटकीय स्थलको रूपमा रहेको कमल दहलाई संरक्षणमा गाउँपालिका,प्रदेश र संघ सरकारले निकै चासो दिएको छ । दहको चारैतर्फ
घेराबारका साथै बाटोमा आकर्षक ढुङ्गा विछ्याउने काम गरिएको छ । ठाउँ, ठाउँमा बस्नका लागि प्रतीक्षालय निर्माण र बेञ्च राखिएको छ । कमल दह हेर्न र अवलोकन गर्ने हरूको दैनिक भीड लाग्ने गरेको छ भने साँझ–बिहान दहका वरिपरि मनोरञ्जन लिनेहरूको जमघट हुने गरेको छ ।