नेपाली जनता फेरि एकजुट हुनुपर्ने भयो ः प्रचण्ड

कार्तिक ३० काठमाण्डौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको भन्दै नेपाली जनता फेरि एकजुट हुनुपर्ने बेला आएको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संविधानको मर्म र भावना विपरीत संसद विघटन गरेर देशलाई फेरि एउटा भुमरी तर्फ लैजाने प्रयासका विरुद्ध पुनः एकीकृत हुनुपर्ने आवश्यकता औंल्याउनु भयो ।
आफूहरुले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने आफैँभित्र पनि कोही भए उनीहरुलाई सफल हुन दिन नहुने उहाँले बताउनु भयो । विगतको जस्तै संविधान मिच्ने, संसदलाई विघटन गर्ने कसरत हुन दिनु नहुने बताए। देशलाई फेरि एकपटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्ने कुरामा सतर्क हुनुपर्ने आवश्यकता रहेको उहाँले उल्लेख गर्नु भयो ।
प्रभण्डले भन्नुभयो–‘समाजमा अलि बढी अराजकतातिर, निरंकुशतातिर फर्काउने कसरतहरु कतै न कतै पछाडितिर फर्काउने कसरत देखिएका छन्। हाम्रो अगाडि मैले जहिले पनि आज भोलि भन्ने गरेको कुरा के छ भने हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने हामी भित्रै कसैको मनशाय छ भने त्यसलाई पनि सफल हुन नदिनुपर्ने आवश्यकता छ। हामी कहीँ न कहीँ सजग हुनुपर्ने, शतर्क हुनुपर्ने आवश्यकता छ। फेरि कतै विगतको जस्तै संविधान मिच्ने,संसदलाई विघटन गर्ने कसरत कतै नहोस् । देशलाई फेरि एक पटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्नेकुरामा सतर्क हुनुपर्ने आवश्यकता छ।’