काठमाण्डौ २ मंसिर, पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उहाँको निधन भएको छ । २०४८ सालमा काठमाडौंबाट निर्वाचित भएपछि उहाँ प्रतिनिधिसभामा सभामुख थियो । अस्पतालका सूचना अधिकारी कृष्ण नेपालीका अनुसार उहाँलाई घरबाट अस्पताल ल्याइपु¥याउँदा उहाँको निधन भइसकेको थियो । उहाँ ८३ वर्षका हुनुहुन्थ्यो ।
ढुंगानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । गणतन्त्र स्थापनाका लागि भएको २०६२ र ०६३ को आन्दोलनमा नागरिक आन्दोलनको अगुवाइ गर्नेमा ढुंगाना पनि हुनुहुन्थ्यो । ढुंगाना लामो समय वकालत पेशमा हुनुहुन्थ्यो ।
नागरिक अधिकार र लोकतान्त्रिक व्यवस्थाको सदृढीकरणका लागि निरन्तर लड्दै आएका ढुंगाना लामो समय सक्रिय राजनीतिमा नरहे पनि उहाँको विचार र उपस्थिति भने भइरहेको थियो । राज्य सत्ताको विपक्षीमा र लोकतन्त्रको पक्षमा आवाज उठाउँदै आउनुभएको थियो । २०४८ सालमा काठमाडौं क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभामा ढुंगाना निर्वाचित हुनु भएको थियो । त्यसपछि उहाँ सभामुख हुनुभयो । ०४८ देखि ०५१ सम्म उहाँले सभामुख भएर काम गर्नुभयो । ०५१ मा पनि चुनाव लडे पनि जित्न भने सक्नु भएन ।
१० वर्षसम्म देशमा चलेको सशस्त्र युद्धलाई शान्ति प्रक्रियामा ल्याउने भूमिकामा ढुंगानाले धेरैपटक सहजकर्ताको भूमिका समेत खेल्नुभएको थियो । उहाँले सभामुख भएको समय बाहेक राज्यसत्ताको सुविधा समेत लिनुभएन ।