सत्ता गठबन्धनभित्र रहेका वामपन्थी दल र सत्ताबाहिर रहेका वामपन्थी नेताहरू नयाँ समाजवादी केन्द्र बनाउने तयारीमा जुटेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), जसपबाट अलग भएका बाबुराम भट्टराई र कम्युनिस्ट एकता अभियान सञ्चालन गरिहेका नेता वामदेव गौतम उक्त केन्द्र बनाउन छलफल गरिहेका हुन ।
चार पूर्वप्रधानमन्त्री र तीन पूर्वउप्रधानमन्त्री सहितका नेताहरू समाजवादी केन्द्र बनाउन सहमति नजिक पुगेका बताइएको छ । नेकपाकालीन सचिवालयका ५ नेताहरूबीच १९ असारमै उक्त सहमति भएको थियो । त्यसैको निरन्तरतास्वरूप गत मंगलबार सिंहदरबारमा छलफल चलाइएको थियो । सिंहदरबारमा पाँच नेताहरू प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छलफलमा जोडिनु अघि बाबुराम भट्टराईले प्रचण्डसँग छलफल गरेका थिए ।
यद्यपि, अहिलेसम्म बाबुराम भट्टराईसहित यी पाँच नेताहरूको छलफल भने भएको छैन । बाबुराम भट्टराईले प्रचण्ड र माधव नेपालसँग छुट्टाछुट्टै भेट गरी समाजवादी केन्द्र बनाउने प्रयास भने गरिरहेका छन् । साथै, अहिलेसम्म जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि प्रष्टसँग बोलिसकेका छैनन । एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालका अनुसार नेकपाकालीन पाँच नेताहरूबीच तीन वटा विकल्पमा छलफल भइरहेको छ ।
एक, तत्काल पार्टी एकता गर्ने अवस्था के छ ? दोस्रो, पार्टी एकता संयोजन समिति मात्रै बनाएर भए पनि जान सकिने सम्भावना कति छ ? तेस्रो, वाममोर्चा बनाएर जाने अवस्था कस्तो छ ? अथवा वाम समाजवादी मोर्चा बनाएर जाने सम्भावना कस्तो छ ?
नेता खनालले भने विखण्डित र विभाजनमा गएको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नका लागि यी विकल्पमा छलफल भइरहेको बताए । यी तीनवटा विकल्प मध्ये मोर्चाबन्दी वा एकता संयोजन समिति बन्ने सम्भावना भने बढ्ता रहेको बताइएको छ । खनाल स्वयम्ले पनि पार्टी एकता नैचाहिँ तत्काल सम्भव नभएको बताए ।
उनले भने, ‘यी कुराको सम्भाव्यताबारे छलफल गरिरहेका छौँ । हामीले कुनै निष्कर्ष निकालिसकेका छैनौं ।’तत्काल पार्टी एकता सम्भव नहुने भएकाले समाजावदी मोर्चा बनेमा एउटै चुनाव चिन्ह र घोषणापत्र लिएर चुनावमा जाने योजना नेताहरूको छ ।
संघीय र प्रदेशसभाको चुनावमा एउटै चुनाव चिन्ह र घोषणापत्र लिएर जाँदा मतबदर कम हुने सम्भावना भएका कारण उनीहरूले यस्तो रणनीति लिएको हुन सक्ने बताइएको छ ।