मयूर संरक्षणमा रोल्पाका महिलाहरु

२५,साउन रोल्पा, रोल्पा सुनिलस्मृति गाउँपालिका–२ स्थित मयूर महिला सामुदायिक वन उपभोक्ता समूहका महिलाहरु मयूर संरक्षणमा जुटेकाछन । सामुदायिक वनलाई मयूर पर्यटनको रुपमा विकास गर्न मयूर संरक्षणमा ती महिलाहरु जुटेका हुन । मयूरको वासस्थानको लागि त्यहाँको भू–बनोट, हावापानी र वनस्पति उत्तम रहेको बताइन्छ ।

उक्त सामुदायिक वन क्षेत्रमा ४०० देखि ५०० को संख्यामा मयूर रहेको स्थानीयको भनाई छ । सामुदायिक वन क्षेत्रमा पाइने भाले मयूरको तौल ५ के.जी. सम्म हुने स्थानीयको भनाइ छ । सानो क्षेत्रमा यति धेरै मयूर पाइनुमा यो क्षेत्र मयूरका लागि सुरक्षित रहेको मान्न सकिने वन्यजन्तु संरक्षणका जानकारहरूको भनाइ छ । ‘

मयुर सामुदायिक वनमा जिललाको लिवाङ, सुलिचौर, खुंग्री र प्यूठानको भिंग्री लगायतका ठाँउहरुबाट विद्यालयको शैक्षिक भ्रमणमा विद्यार्थी, शिक्षक तथा अन्य क्षेत्रवाट युवा युवतीहरु आउने गरेको मयूर सामुदायिक वन उपभोक्ता समूहको भनाइ छ । आकर्षक र रङ्गीचङ्गी मयूरको प्वाख धार्मिक उपचार विधिमा प्रयोग गरिन्छ । घर सजावटका साथै घर तथा मन्दिरलाई शुद्ध र चोखो राख्न पनि यसको प्वाँख प्रयोग गर्ने धार्मिक विश्वास तथा प्रचलन रहेको छ ।