दाङमा ९ हजार मतदाता थपिए

दाङ, ३१ साउन । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङमा करिव नौ हजार मतदाता थपिएका छन् । जिल्लामा ८ हजार ९८५ मतदाता थपिएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य गत असार महिनादेखि शुरुवात गरिएकोमा जिल्लामा ४ हजार ६१६ पुरुष र ४ हजार ३६९ जना महिला नयाँ मतदाता थपिएका हुन् ।

त्यस्तै बाहिरी जिल्लाका १२७ पुरुष र १०४ जना महिलाले सो अवधिमा कार्यालयमा नाम दर्ता गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले बताउनुभयो ।

कार्यालयले बाहिरी जिल्लाको नाम दर्ता भएकाहरुको हकमा सम्बन्धित जिल्लामा नै पठाउने छ । यसैगरी अन्य जिल्लामा दर्ता भएकाहरूको दाङ जिल्लाका मतदाताको नाम आयोगले दाङमै पठाउने उहाँले जानकारी दिनुुभयो ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दाङमा २ लाख ९ हजार ९९ महिला, २ लाख ७९९ पुरुष र अन्य २ गरी जम्मा ४ लाख ९ हजार ९ सय मतदाता रहेका थिए । सरकारले स्थानीय तहको निर्वाचनपछि असार १ गतेदेखि साउन १९ गतेसम्म नयाँ मतदाता नामावलीमा नाम दर्ताको व्यवस्था गरेको थियो । प्रदेश निर्वाचन कार्यालयले अनलाइनमार्फत समेत मतदाता नामावली दर्ता शुरु गरेको थियो ।