ताराराना तिमल्सिना
दशक लामो सशस्त्र संघर्षको अन्त्यपछि शान्तिपूर्ण राजनीतिक अवतरण भएको छ ।यससँगै माओवादी पहिलो संविधान सभाको निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बन्यो । त्यस पश्चात् भने माओवादी केन्द्रको जनमत निरन्तर खुम्चँदो क्रममा छ । पहिलो संविधान सभाको निर्वाचनमा एक ढिक्का भई चुनावमा होमिएको माओवादीको आन्तरिक जीवनमा त्यसपछि अनेकौं आरोह–अवरोह देखा पर्दै गए । परिणामत ः २०६९ सालमा माओवादी पार्टी विभाजनको पीडा भोग्न बाध्य भयो ।त्यस विभाजनका पछि थुप्रै कारण रहेको भनियो । शास्त्रीय माक्र्सवादी विचारधारा प्रति रुझान राख्ने वैद्य समूहको पार्टीले लिएको संसदीय राजनीतिक कार्यदिशा प्रतिको मतभेद नै प्रमुख थियो ।पार्टी विभाजनको क्रम वैद्य नेतृत्वको एउटा हिस्साको बहिर्गमनमा मात्रै सीमित रहेन । त्यसको चार वर्ष पश्चात् अर्थात् २०७३ सालमा अर्का उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा पार्टी पुनः विभाजित भयो । भट्टराईले संविधान सभाबाट पारित संविधानलाई ‘आदि भरी, आदि खाली गिलास’ भनी अपूर्ण रहेको टिप्पणी गर्न पुगे । उनको अभिव्यक्तिमा पार्टीको एजेन्डा अनुरूपको पूर्ण संविधान नबनेको तर्फ संकेत गरेको प्रस्टै बुझिन्थ्यो । त्यससँगै उनले समकालीन राजनीतिमा मालेमावादको औचित्य माथि प्रश्न उठाएका थिए। उनले माओवादी वैचारिक राजनीतिक दर्शनबाट पार्टीले देशमा परिणाममुखी सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरण हुन नसक्ने भन्दै पार्टीबाट औपचारिक रूपमा अलग भएको घोषणा गरे। यद्यपि पार्टी विभाजनको भित्री रहस्य चाहिँ मालेमावादको औचित्यता माथि भन्दा पनि पार्टी र सत्ता राजनीतिमा उनको शक्तिशाली बन्ने लालसा र महत्वाकांक्षा नै प्रमुख कारक थियो । पछिल्ला राजनीतिक घटनाक्रमबाट उनी माथि लगाइएका यी आरोपको पुष्टि हुँदै गइरहेको छ ।
पटक–पटकको पार्टी विभाजनको पीडालाई शक्तिमा बदल्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने र समाजवाद स्थापनाको दीर्घकालीन लक्ष्य सहित २०७५ सालमा माओवादी केन्द्रको एमालेसँग पार्टी एकता हुन पुग्यो । तर दुई पार्टीको एकताबाट बनेको नेकपा लामो समयसम्म टिक्न सकेन र दुर्भाग्यवश विघटन हुन पुग्यो। नेकपाको विभाजनका क्रममा माओवादीतर्फका केही नेता एमालेको कित्तामा उभिन पुगे। त्यस परिघटनालाई पार्टीले नेताहरूको अवसरवादी प्रवृत्तिको रूपमा विश्लेषण गरेको छ । यद्यपि निरन्तरको विभाजन, टुटफुट र आन्दोलनबाट केही नेताहरूको पलायनका बाबजुद पनि माओवादीको बलमा प्राप्त ऐतिहासिक उपलब्धिहरूको रक्षार्थ पार्टीले पहरेदारी गर्दै आइरहेछ। अब विभाजनका ती सबै दुखाइलाई भुल्दै माओवादी केन्द्र अहिले पुनः शक्तिआर्जन गर्ने प्रयासमा जुटेको छ ।
अब माओवादी केन्द्रको शक्ति निरन्तर ह्रास हुँदै जानुका कारण बारे अभियानकै सिलसिलामा गम्भीर समीक्षा गरिनुपर्छ । जनतालाई पार्टी विभाजनका गुह्य कारणहरू बारे स्पष्ट जानकारी गराउनु पार्टीको कर्तव्य हुन्छ। खासमा माओवादीको शक्तिमा ह्रास आउनुमा पार्टी विभाजन मात्रै मुख्य कारक देखिँदैन । जब शान्तिपूर्ण राजनीतिमा जनताको अभूतपूर्व समर्थनबाट माओवादी अनुमोदित भयो । तब वामपन्थी र गैरवामपन्थी दुवै संसदीय शक्तिको निशानामा माओवादी पर्दै गयो । त्यसका पछि उनीहरूको माओवादी प्रति जनताले दर्शाएको अभूतपूर्व विश्वासलाई निस्तेज गरी संसदीय राजनीतिक मैदानमा पुनः बोलवाला कायम गर्ने उद्देश्य रहेको बुझ्न कठिन छैन । तब पुराना दलहरूको माओवादी प्रति गर्ने व्यवहारमा फरक पर्नु स्वाभाविकै हो । माओवादीले उठाएको जनमुखी संविधान निर्माणको एजेन्डा तुहाउने सोचले संविधान नै नबनाई पहिलो संविधानसभा भंग हुनु त्यसैको परिणति थियो । किनभने ठूलो दल बनेको माओवादीको नेतृत्वमा संविधान बन्दा त्यसको पूर्ण जस माओवादीलाई जाने भय अन्य दलमा थियो ।
आन्दोलनको मोर्चाबाट जन्मिएको माओवादीको सामन्तवादको जरो राजतन्त्रको अन्त्य गर्नु नै मुख्य भूमिका रह्यो । त्यसपछि थुप्रै एजेन्डा अघि सारेको माओवादीको काँधमा ती पूरा गर्नुपर्ने दायित्व छ । विडम्बना, अहिले परिवर्तनकारी माओवादी शक्तिलाई युद्धकालीन मुद्दालाई लिएर आरोपित गर्ने प्रयास भइरहेको देखिन्छ । अर्को तर्फ, जनमुक्ति सेनाको शिविरको विषयलाई उछालेर पार्टीको मूल नेतृत्वलाई बदनाम गराउने कार्य हुँदै आएको छ । जबकि युद्धकालीन मुद्दा राजनीतिक विषय भएकाले त्यसलाई राजनीतिक कोणबाटै निष्कर्षमा पु¥याउनु पर्छ । त्यस्तै भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्ने कार्यमा प्रचण्ड सरकार निरन्तर लागिरहेछ । जनमुक्ति सेनाको शिविरको विषय मात्रै होइन २०४६ सालपछिका सबैजसो भ्रष्टाचारका काण्डहरूको बिना दबाब छानबिन गरिनुपर्छ भन्ने विषयमा माओवादी खुला र स्पष्ट छ । जनतालाई केन्द्रमा राखेर राजनीति गर्ने माओवादीको प्रगतिशील विचार, जनमैत्री व्यवहार र विकासमुखी कार्यलाई लिएर विरोधका लागि विरोध गरिनु उपयुक्त होइन । माओवादी केन्द्रको सांगठनिक र वैचारिक शक्तिमा क्रमिक रूपमा क्षयीकरण गराउन अनेकौं प्रयत्न हुनुलाई गम्भीरतापूर्वक लिइनुपर्छ । पार्टी कमजोर हुनुको दोष जति विरोधी पक्षलाई मात्रै थोपरेर उम्किने छुट हामीलाई छैन । प्रभावशाली भनिने नेताहरूले निर्माण गरेका गुट र उपगुटको शिकार माओवादी पार्टी हुन पुगेको तथ्य स्पष्टै छ । पार्टी संगठनमा आफ्नो गुटगत वर्चस्व स्थापित गर्ने र त्यही शक्तिमा टेकेर पार्टी र सरकारमा पद प्राप्तिका लागि मूल नेतृत्वसँग सौदाबाजी गर्ने प्रवृत्ति शोभनीय होइन । पार्टीमा हावी हुँदै गएको गुटबन्दीको संस्कृतिले पार्टीको मूल संरचनालाई प्यारालाइसिस जस्तै बनाउँदै लगेको छ । त्यससँगै,भ्रष्टाचारका काण्डमा पार्टीका नेताहरू जोडिनु दुर्भाग्यपूर्ण छ ।
नेतामाथि लागेको भ्रष्टाचारको आरोप उपर उनीहरूले छानबिनमा सघाउनुपर्छ । अन्यथा,त्यसले पार्टी संगठनलाई थप क्षति पु¥याउने जोखिम हुन्छ ।अर्कोतर्फ, पार्टीमा नातावाद–कृपावाद र चाकडीको संस्कृति डरलाग्दो गरी हुर्कंदै गएको छ । अवसर पाएका र नपाएका नेता÷कार्यकर्ता बीचमा देखिएको मनोमालिन्यता पनि आफैंमा पार्टी निर्माणमा समस्या बनिरहेको छ । यत्तिबेला बुझ्नुपर्ने मूल कुरा के हो भने ‘एकले थुके सुकी, धेरैले थुके नदी’ भन्ने उखानलाई मध्यनजर गरी सबै मिलेर पार्टी पुनर्निर्माण नगर्ने हो भने हामीसँग असन्तुष्टि पोख्ने थलो समेत हुने छैन । पार्टी संगठन बलियो भए मात्रै अवसरहरू प्राप्त हुन्छन् भन्ने कुरा प्रति नेता कार्यकर्ता पंक्ति सचेत हुनुपर्ने छ । माओवादी शक्ति बलियो भएमात्रै प्राप्त उपलब्धिहरूको रक्षा हुन सक्छ भन्ने विषय प्रति जनतालाई यही अभियान मार्फत जागरुक बनाउनु पर्नेछ। ताकि ऐतिहासिक उपलब्धिहरूलाई उल्टाउने पश्चगामी षड्यन्त्र विफल पार्न सकियोस् । यो स्पष्ट छ कि जनताको पूर्ण साथ बिना उपलब्धि र प्रणालीको रक्षा हुन सक्तैन ।
अन्त्यमा, यस जागरण अभियानमा पार्टी माथि लाग्दै आएका मिथ्या आरोपहरूलाई चिर्दै माओवादी आन्दोलनले प्राप्त गरेका उपलब्धिलाई जनतामाझ स्पष्टसँग राख्न सक्नु पर्नेछ । त्यससँगै विभाजित माओवादी धाराहरूलाई एकीकृत गर्ने कार्यमा जोड दिनुपर्ने छ । अहिलेको माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारले लिएको भ्रष्टाचार विरोधी नीति, रोजगारीको सिर्जना र आर्थिक विकास बारे पार्टीले यस लिन सक्ने गरी प्रचार गर्नुपर्ने हुन्छ ।यो अभियानले पटक–पटकको पार्टी विभाजन, आन्तरिक–बाह्य पश्चगामी शक्तिहरू र कम्युनिस्ट एवं गैरकम्युनिस्टहरूको लगातारको हमलाबाट क्षयीकरण हुन पुगेको शक्तिलाई पुनः आर्जन गर्ने लक्ष्य लिएको छ ।