काठमाडौं ः नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको एक सय दिन पूरा भएको छ ।
राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने लक्ष्य राखि असार ३० गते सरकार गठन भएको थियो । सरकार गठनलगत्तै कांग्रेस र एमालेका नेताहरुले अब एक दिन पनि काम नगरी बस्ने छुट नभएको बताएका थिए ।
तर एक सय दिन हुँदा समेत सरकारले कुनै पनि क्षेत्रमा उत्साह ल्याउन सकेको छैन ।
तर, ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै केहिदिन सेयरबजारमा उत्साह देखियो। तर त्यो धेरै दिन टिकेन । सरकार गठनका बेला नेकपा एमाले र नेपाली कांग्रेसले राजनीतिक स्थायित्वका लागि संविधान संशोधनका लागि राष्ट्रिय सहमति निर्माण गर्ने सहमति गरेका थिए । त्यो एक सयदिनदेखि अलपत्र छ ।
सरकारले काम गरेको देखाउन प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेका थिए । मन्त्रीहरु र सचिवहरुलाई बोलाएर पटकपटक निर्देशन दिए पनि मन्त्री र सचिवहरुबाट कुनै कामको परिणाम आएन । देशका २० भन्दा बढी जिल्ला बाढी,पहिरो र डुबानले अस्तव्यस्त हुँदा पीडितको उद्धारमा सरकारी संयन्त्रको उपस्थिति कमजोर देखियो ।
विपद्का बेला सरकारका कुनै पनि निकायले आफू मातहतका संयन्त्र परिचालन गर्न सकेनन् । राहत तथा पुनर्स्थापनाको योजना अलपत्र रहेको छ । सुशासनको नारा दिने सरकार विवादमा परेका आफ्ना नेता तथा कार्यकर्ता जोगाउने ध्याउन्नमा छ । बिचौलियाको सेवामा तल्लीन हुँदा सरकारले सुशासनदेखि सेवा प्रवाहसम्म चुकेको छ ।
दुई ठूला दल मिलेर गठन भएको बलियो सरकारले देश र जनताका लागि केही राम्रो काम गर्ने जनाताको अपेक्षा भएपनि एक सय दिनसम्म सरकारले ठोस र उपलब्धि मूलक काम गर्न नसक्दा आगामी दिन पनि सरकारले यसैगरी बिताइदिने भो भन्ने नागरिक तहबाट चिन्ता छाएको छ ।