सौर्यमण्डलका ९ ग्रह र एक तारा बीचको सम्बन्ध

ब्रह्माण्ड निकै विशाल, रोचक एवं रहस्यमय छ । यहाँ सयौँ तारा, पिण्ड र अन्तरिक्ष बस्तु छन् । यही विशाल ब्रम्हाण्डको सानो हिस्सा हो हाम्रो सौर्यमण्डल,जसमा सूर्य एक केन्द्रीय तारा हो । सूर्यको वरिपरि ८ ग्रहले चक्कर लगाउँछन् । तर, तपाईंले कहिल्यै सोच्नु भएको छ– सौर्यमण्डलमा रहेका अन्य ग्रहमा दिन र रात कस्तो र कति समयको हुन्छ ? त्यहाँ एक वर्ष कति लामो
हुन्छ ?
ब्रम्हाण्डमा कैयौँ ग्यालेक्सी र सौर्यमण्डल छन् । यस बारे वैज्ञानिकहरूले पनि सटिक अनुमान लगाउन सक्दैनन् । यता, हाम्रो सौर्यमण्डलको कुरा गर्ने हो भने यो आफैँमा निकै रोचक र रहस्यमय छ । त्यसैले त वैज्ञानिक अझै कैयौँ प्रश्नको जवाफ खोज्ने प्रयास गरिरहेका छन् । हाम्रो सौर्य मण्डलको केन्द्रीय तारा सूर्य हो,जुन आकारमा विशाल छ । यसको गुरुत्वाकर्षण निकै बलियो छ । यही
गुरुत्वाकर्षण बलका कारण सौर्यमण्डलको ८ वटै ग्रह सूर्यको वरिपरि निरन्तर परिक्रमा गरिरहन्छन् । सूर्य जल्दै गरेको आगोको गोला जस्तै हो । यसमा हरेक समय न्युक्लियर फ्युजनको प्रक्रिया चलिरहन्छ । यसै कारण सूर्यले प्रकाशसँगै सौर्य हावा र रेडिएसन पैदा गर्ने काम गर्छ । सूर्यको प्रकाश धरती र यहाँ बस्ने प्राणीका लागि ऊर्जाको महत्वपूर्ण स्रोत हो ।
धरतीबाट सूर्यको दूरी लगभग १४ करोड ९६ लाख किलोमिटर छ । यसै कारण हाम्रो ग्रहमा जीवन सम्भव भएको हो । पृथ्वीसँग हामीलाई सूर्यको हानिकारक रेडिएसनबाट बचाउन घना वायुमण्डल छ । यसैले हाम्रो ग्रहलाई चारैतिरबाट कभर गरी सुरक्षित राख्छ । सूर्यको प्रकाशले हाम्रो छालालाई गम्भीर नोक्सान गर्न नसक्नुको कारण पनि यही हो । बरू घामको प्रकाश बाली, रूख, बिरुवा विकसित हुनका लागि महत्त्वपूर्ण हुन्छ । आकारमा पृथ्वीभन्दा सूर्य १ सय ९ गुणा ठूलो छ । सूर्यको वजन पृथ्वी भन्दा ३ लाख ३३ हजार गुणा बढी छ । तपाईंलाई अचम्म लाग्न सक्छ, जसरी सौर्यमण्डलका ८ वटै ग्रहले सूर्यको परिक्रमा गर्छन्, त्यसैगरी सूर्यले पनि आफ्नो ग्यालेक्सीको परिक्रमा गर्छ । वास्तवमा हाम्रो सूर्य मिल्कीवे ग्यालेक्सीका सय विलियन तारा मध्ये एक हो । यसले मिल्कीवे ग्यालेक्सीको केन्द्रीय भाग अर्थात् ग्यालेक्टिक कोरको परिक्रमा गर्छ । यस्तोमा सूर्यलाई एक चक्कर पूरा गर्न करिब २ सय ३० मिलियन वर्षभन्दा लामो समय लाग्छ । यस हिसाबले हेर्ने हो भने सूर्यको एक वर्ष पृथ्वीको २३ करोड वर्षबराबर हुन्छ । यसैगरी, सूर्य आफ्नो अरबिटमा पनि घुमिरहन्छ । यसै कारण सूर्यको एक दिन पृथ्वीको २६ दिन बराबर लामो हुन्छ ।