नेपालमा कम्युनिस्ट ध्रुवीकरणको प्रश्न

राज ढुंगाना
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिष्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिष्ट पार्टी टुट, फुट, गुट र एकताको श्रृखलाबाट गुज्रिँदै आएको छ ।
२००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीमा २०१९ सालको तेस्रो महाधिवेशनपछि २ लाइन संघर्ष भन्दै समूहगत विभाजनको श्रृखला शुरू भएको थियो ।दक्षिणपन्थी, उग्रवामपन्थी जस्ता आरोप–प्रत्यारोप गर्दै आफूलाई सच्चा र इमान्दार कम्युनिष्ट भन्ने समूहहरू २०४६ सालसम्म आउँदा दर्जनौं पार्टीका रूपमा विभाजित भए । एउटा
धार को अर्डिनेसन केन्द्र, माले–माक्र्सवादी हुँदै २०४७ सालमा नेकपा एमालेका रूपमा विकसित भयो । अर्को धार चौम, मशाल,एकता केन्द्र हुँदै नेकपा माओवादी बन्यो ।
प्रजातन्त्र प्राप्तिसँगै नेकपा एमाले संसदीय राजनीतिमा सहभागी भयो तर एकता केन्द्र पहिलो संसदीय चुनावलाई उपयोग गर्दै नेकपा माओवादीको नाममा २०५२ फागुन १ गतेदेखि सशस्त्र संघर्षमा होमियो । संसदीय अभ्यासमा सामेल एमाले २०५४ सालमा विभाजित भयो र माले बन्यो तर त्यो विभाजन वामदेव गौतमको असफलतापछि लामो समय टिकेन । २०५६ सालको चुनावमा नराम्रो हार व्यहोरेपछि फेरि २०५८ सालमा एकता भयो । संसदको अभ्यास गरेको पार्टीभित्र टुटफुट मात्रै भएन, विभिन्न कालखण्डमा भीमकाय गुटहरूको युद्ध नै चल्यो,त्यो आज पर्यन्त पनि जारी छ । त्यसो त १० वर्ष जनयुद्ध गरेर २०६२ र ०६३ पछि खुला राजनीतिमा आएको तत्कालीन नेकपा माओवादी पनि धुजाधुजा हुने गरी फुट्यो

। खासगरी नेपालमा कम्युनिष्ट पार्टीको फुट र जुट दुबै सत्तास्वार्थ र व्यक्तिगत शक्तिआर्जनका निमित्त भएको देखिन्छ । उनीहरू सैद्धान्तिक रूपमा भन्दापनि व्यक्तिगत टकराव र प्रतिष्ठाकै कारण फुटेको देखिन्छ ।अहिले मुलुकमा एमाले,माओवादी बाहेक अन्य कम्युनिष्ट शक्तिहरू पनि सक्रिय छन । एमालेबाट फुटेको एकीकृत समाजवादी, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी अस्तित्वमा छन ।
अब अहिलेको सन्दर्भको कुरा गरौं–यतिबेला एमाले बाहेक पहिलो चरणमा माओवादी धार मिल्ने प्रयास भइरहेको छ । यद्यपि यसले मूर्त रूप लिन सकेको छैन । प्रचण्ड, वैद्य र चन्दको सैद्धान्तिक धार आकाश र जमिन जस्तो देखिन्छ । चन्द लगायतले अहिलेको संविधानबाट जनक्रान्ति सम्भव नहुने देख्छ भने प्रचण्ड अहिलेको उपलब्धिको रक्षा गरेर मात्रै क्रान्ति सफल पार्न सकिन्छ भन्ने निष्कर्षमा छन । चुनाव अघि माओवादी धार मिल्न सक्ने अवस्था छैन,बरु त्यसको विकल्पमा समाजवादी धारको परिकल्पना गर्न थालिएको छ ।
यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विचार मिल्नेसँग गठबन्धन वा एकता के गर्ने भन्नेमा छलफल गरिरहेका छन ।एमाले वास्तविक रूपमा आफू हार्ने भएपनि बाहिर एक्लै चुनावमा जाने भन्दैछ तर डराइडराइ । एमाले पनि सकेसम्म चुनावी तालमेलको प्रयासमा भित्रभित्रै लागिरहेको छ । एकीकृत समाजवादी घिसिमुन्टी आफ्नो शक्ति देखाउन खोजिरहेको छ ।
यद्यपि स्थानीय चुनावमा सबै स्थानमा उम्मेदवार पनि उठाउन नसकेको र चुनावी गठबन्धनमा पनि राम्रो भाग नपाएकाले उसको शक्ति कति भन्ने यथार्थ चित्र आउन सकेको छैन । यद्यपि पार्टीका अध्यक्ष माधवकुमार नेपाल आफ्नो पार्टीसँग २० लाख हाराहारीमा मत रहेको दाबी गर्छन तर उनले भने जस्तो मत छ, छैन गत चुनावले प्रस्ट पार्न सकेन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अझै पनि अहिलेको सत्ता गठबन्धनलाई कायम राख्नुपर्ने र प्रतिगमन विरुद्ध एकजुट हुन आवश्यक रहेको बताइरहेका छन । चुनाव केन्द्रित गठबन्धन कि पार्टी एकता ? खासमा नेपालका कम्युनिस्ट पार्टीहरू दीर्घकालीन भन्दा अल्पकालीन फाइदा र एउटा चुनाव केन्द्रित निर्णय गर्न पुगेको इतिहास हामी माझ छ । त्यसकै परिणाम हो २०७५ जेठ ३ गते पार्टी एक गरेका एमाले र माओवादी केन्द्रको हविगत । व्यक्तिगत महत्वाकांक्षा, हतार र तयारी विनाको पार्टी एकताले माओवादी त छुट्टियो नै,सग्लो एमाले पनि विभाजित हुन पुग्यो ।

अब एमालेको कुरा गरौं – खासमा एमाले अध्यक्ष र उनको कोर टीम बाहेक अहिले अधिकांश नेताहरू आगामी निर्वाचनमा तालमेल गरेरै जानुपर्नेमा जोड दिइरहेको पाइन्छ । यसको नेतृत्व शंकर पोखरेल,घनश्याम भुसाल, सुरेन्द् पाण्डे, भीम रावल, गोकर्ण विष्ट लगायतले गरिरहेका छन । यद्यपि एमाले अध्यक्ष ओलीले सार्वजनिक रूपमा एमाले एक्लै चुनावमा जाने बताउन छाडेका छैनन । भित्रभित्रै भने उनको नौनाडी गलिसकेको छ । उनलाई थाहा छ– एमाले एक्लै चुनावमा जाने र उता सत्ता गठबन्धन दल एक भएर जाने अवस्था आएमा संसदमा आफ्नो उपस्थिति अहिलेको कांग्रेसको भन्दा खराब अवस्थामा पुग्नेवाला छ ।
भर्खरै स्थानीय चुनाव सम्पन्न भएको छ । नेपाली कांग्रेसले गठबन्धनबाट आफूलाई ठूलो दलको रूपमा स्थापित गरेको छ । कांग्रेसले ३२९ पालिकामा प्रमुख जितेको छ भने एमालेले २०५ पालिका प्रमुख जितेको छ । यता माओवादीले १२१ पालिका प्रमुखमा जीत हात पारेको छ । एकीकृत समाजवादीले २० पालिका प्रमुख जितेको छ भने राष्ट्रिय जनमोर्चाले ४ पालिका प्रमुखमा विजयी हासिल गरेको छ ।

गत स्थानीय निर्वाचन हेर्दा कम्युनिस्ट शक्तिको मत बलियो र शक्तिशाली छ । टुटफुट र आन्तरिक द्वन्द्व बीच कम्युनिस्ट शक्तिले ३५० स्थानीय तहमा प्रमुख पदमा जीत हासिल गरेका छन । यद्यपि फुटेका कम्युनिस्ट शक्तिलाई कांग्रेसले भिन्दाभिन्दै साइजमा ल्याइदिएको छ ।
माथि उल्लेखित वस्तुस्थिति बुझेपछि अब कुरा गरौं –चुनाव केन्द्रित गठबन्धन कि पार्टी एकता ? खासमा नेपालका कम्युनिस्ट पार्टीहरू दीर्घकालीन भन्दा अल्पकालीन फाइदा र एउटा चुनाव केन्द्रित निर्णय गर्न पुगेको इतिहास हामी माझ छ । त्यसकै परिणाम हो २०७५ जेठ ३ गते पार्टी एक गरेका एमाले र माओवादी केन्द्रको हविगत । व्यक्तिगत महत्वाकांक्षा,हतार र तयारी विनाको पार्टी एकताले माओवादी त छुट्टियो नै,सग्लो एमाले पनि विभाजित हुन पुग्यो । फलस्वरूप यो ५ वर्ष सपनामा पनि सत्तामा जाने नसोचेको

कांग्रेस उनीहरूकै विभाजनबाट सत्ताको बागडोर सम्हाल्न पुग्यो । ५० वर्ष शासन गर्छु भनेर नेकपाको जहाज उडाएका २ पाइलट ५० महिना नपुग्दै असफल सावित भए र जहाज दुर्घटना गराए । यो राजनीतिक दुर्घटनाले खासमा नेपाली जनताले खाजेको राजनीतिक स्थायित्वको हत्या भयो भने मुलुकमा अस्थिर राजनीतिको पालुवा फेरि पलायो । जनतामा निराशा उत्पन्न गरायो भने मुलुक समृद्धिको बाटोभन्दा ठीक विपरीत लाग्यो ।
जिम्मेवार पाइलटहरू प्रचण्ड र केपी ओली नै हुन । यसमा सहायक जिम्मेवार माधव नेपाल पनि छन ।जबसम्म यी ओली र प्रचण्डले गम्भीर आत्मसमीक्षा गर्दैनन, तबसम्म अहिलेको परिवेश बलियो हुने र कम्युनिस्ट पार्टी बलियो हुने सम्भावना रहँदैन । यसको मुख्य दोष २ नेताहरूलाई मुख्य रूपमा जान्छ ।
अब के त ? के कम्युनिस्ट पार्टीहरूको एकता मसिनो ढंगबाट गर्न आगामी चुनावसम्मको समय पर्याप्त हुन्छ ? ४–६ महिनामै यति विभाजित नेतृत्व, विभाजित कार्यकर्ता ठ्याक्कै मिलिहाल्न सक्छन ? के फेरि पनि चुनावकै लागि जनता भुलाउन पार्टी एकता गर्ने ? जनताले अब पत्याउँछन ? यसको समीक्षा गर्ने कि नगर्ने ? यी विविध विषयमा नेतृत्वले गम्भीर ढंगबाट मूल्यांकन गर्न जरुरी छ ।

चुनाव र सत्ताका लागि पार्टी एकता गर्ने भन्दा यतिबेला वाम गठबन्धनको आवश्यकता हो कि अबको चुनावमा वाम गठबन्धनको पहल प्रचण्ड र माधव नेपालले संयुक्त रूपमा गरेर केपी ओलीलाई वाम गठबन्धनको एजेण्डामा आउन बाध्य पार्न सक्छन ? के ओलीले आफूलाई सच्याएर, फराकिलो छाती बनाएर वाम गठबन्धनको महाअभियानको नेतृत्व गर्न सक्छन ? यो विषय आजको महत्वपूर्ण विषय हो ।आजको दिनमा कम्युनिस्ट पार्टी एकताको नाममा हतार र स्वार्थपूर्ण पार्टी एकताको कुनै सम्भावना देखिँदैन र त्यो दीर्घकालीन नहुने पुष्टि भइसकेको छ ।
विगतको पार्टी एकता फगत घाँटी जोडिएको ब्रह्माको बहुरूपी टाउको भएको यथार्थ हो । तसर्थ अबको बाटो बृह्त वाम गठबन्धनको नै हो र यो सबै वामपन्थी कार्यकर्ताहरूको दबाब र नेतृत्वको अग्रसरताबाट सम्भव छ ।