चाडवाडको बेला उपभोक्तालाई राहत देऊ

नेपालीहरुको चाडपर्वको मौसम शुरु भएको छ । नेपालमा चाडपर्वको मुखमा हरेक वर्ष मूल्य बृद्धि हुने,उपभोग्य वस्तुमा मिसावट हुने,अखाद्य वस्तु बिक्री गर्ने पुरानै प्रवृत्ति कायम छ । दैनिक रूपमा प्रयोग हुने दाल,चामल,चिनी,मैदा लगायतको मूल्य बढ्दा उपभोक्ता मारमा परेकाछन् । नेपाल आयल निगमले सरकारसँग कुनै सरोकार नराखी खाना पकाउने ग्यास, डिजेल,मट्टीतेल र पेट्रोलमा अत्यधिक मूल्य वृद्धि गरेपछि सरकारले त्यसलाई नियन्त्रणमा लिई उतm बृद्धि मूल्य फिर्ता लिन निगमलाई बाध्य पारेको छ । तर दैनिक बढिरहेको अरु उपभोग्य वस्तुको मूल्य भने आकासिदै गएको छ । खासमा चाडपर्वको वेला महँगी नियन्त्रण भई उपभोक्ताले राहत र सुविधा पाएर पर्वहरुलाई खुसीका साथ मनाउन पाउनुपर्ने हो । तर त्यसको उल्टो उपभोतmाहरु चर्को मूल्यमा पर्ने,ठगिने,लुटिने समस्याले पिरोलिने गरेकाछन ।

चाडपर्वमा बढी खपत हुने वस्तुमा चिनी १०० रुपैयाँबाट बढाएर १५० भन्न थालिएको छ । हरेक बस्तुमा अस्वाभाविक ढंगको मूल्य बृद्धिले उपभोक्तालाई दैनिकी चलाउन समस्या परिरहेको छ । आर्थिक गतिविधि चलायमान हुन नसकिरहेको अवस्थामा मान्छेका आम्दानीका स्रोतहरू घट्दै गएका छन् । मुलुक वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको रेमिट्यान्सले धानिएको छ । किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजार मूल्य छैन् । किसानले उत्पादन गरेका तरकारीले बजार नपाउँदा बेला–बेलामा सडकमै फाल्नुपर्ने अवस्था छ । भारतबाट तरकारी खुलेआम आयात हुँदा स्वदेशमा किसानले सस्तोमा बिक्री गर्नुपर्ने अवस्था छ । नेपालीको अलिकति देखासिकी, तडकभडक र फजुल खर्च गर्ने प्रवृत्ति पनि बढ्दै गइरहेको छ । वेरोजगार,महँगी अभाव बढिरहेको समयमा उपभोक्ताहरुले पनि आफनो घाँटी हेरी हाड निल्न सक्नुपर्दछ । बजारमा हुने ठगी, मिसावट र कालो बजारीबाट आफै सचेत र जागरुक हुने कुरानै सबैभन्दा बढि सुरक्षित हुने उपाय हो । त्यस्तै जथाभावी अनियन्त्रित बजारलाई विभिन्न व्यावसायिक संघसंस्थाहरु,उद्योग वाणिज्य संघ,चेम्बर अफ कमर्स, उपभोक्ता हितसंरक्षण मञ्च,नागरिक समाज जस्ता संस्थाहरुले महत्वपूर्ण र प्रभावकारी भूमिका खेली सहज बनाउन सक्दछन् ।

त्यस्तै सरकारले जनतालाई महंगी नियन्त्रण गर्नुको साथै जनतालाई राहत सुविधा दिनुपर्दछ ।सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाई चाडपर्व वेला मौलाउने मिसावट, म्याद गुज्रेको मालवस्तु बेच्ने प्रवृत्तिलाई निरुत्साहित पारिनु पर्दछ । यो महंगीमा यात्रुहरुलाई हवाई र सडक यातायातको टिकटमा सहजीकरण, लामो दुरीको यात्रा गर्ने यात्रु तथा सवारी चालकहरुको सुविधाका लागि सडकका खाल्डाखुल्डीहरु पुर्ने,यात्राको क्रममा यात्रुहरुले सडक किनारका होटल तथा रेष्टुरेन्टमा खाने खानाको गुणस्तर जाँचेर स्वच्छ खाना खान पाउने व्यवस्था मिलाएर सरकारले जनता प्रतिको दायित्व र अविभावकत्वको भूमिका निर्वाह गर्न जरुरी हुन्छ ।