बर्षातको मौसममा र स्वास्थ्य सुरक्षा

बर्षातको मौसम हरियाली र मोहक मात्र हुदैन,ज्यादा संक्रमण रोगहरु फैलिने जोखिमपूर्ण पनि हुने गर्दछ ।बाढि पहिरो,सर्प दंश, विषालु च्याउ खाँदा विरामी आदिका घटनाहरु यो मौसममा भइराखेका हुन्छन् । स्वास्थ्य र जीवनका दृष्टिकोणले यो मौसम निकै खतरापूर्ण मानिन्छ । स्वास्थ्यको दृष्टिले हेर्दा यो मौसममा विशेषगरी हैजा, मलेरिया र डेंगू जस्ता सरुवा रोगहरूको जोखिम हुने गर्दछ । पानीको जमावट र अस्वच्छता यी रोगहरूको मुख्य कारक हुन् । पानीको जमावटले लामखुट्टेहरूको प्रजननमा योगदान पुरयाउँछ, जसले मलेरिया र डेंगूको फैलावटलाई बढावा दिन्छ ।यसका साथै,पानीका स्रोतहरूमा संक्रमण फैलिन सक्छ,जसले हैजा जस्ता रोगहरूको जोखिम बढाउँछ । वर्षातले नियमित खानेपानीका मुहान अवरुद्ध गर्ने, खानेपानीको स्रोतमा ढलको पानी मिसिने वा धेरैजसो ग्रामीण क्षेत्रमा सोझै मुहानकै पानी प्रयोग भएकाले मुहानमा बाढी पसेर जीवाणुको संक्रमण हुने खतरा निकै बढ्ने गर्दछ । केही दशकअघिसम्म नेपालमा हैजाको महामारी निकै ठूलो समस्याको रुपमा रहने गरेको थियो ।रोगहरूको संक्रमणबाट जोगिनका लागि प्राथमिक कदम पानीको व्यवस्थापनमा ध्यान दिनु अत्यन्त आवश्यक हुन्छ ।
हैजा भएका मानिसको दिसाबाट निस्कने किटाणु र पानी खानाको माध्यमबाट दोस्रो व्यक्तिमा सर्ने भएकाले सरसफाइ नै हैजा र अन्य संक्रमित रोगबाट बच्ने प्रमुख उपाय हो । देशका केही जिल्लामा मात्रै देखिएको हैजाको संक्रमण देशभरि नै देखिन सक्ने जनस्वास्थ्यविज्ञहरुले चेतावनी दिंदै आएका छन् । त्यसैले पनि हरेक व्यक्ति, घरपरिवार लगायत समुदाय,विद्यालय आदि मानिसको जमघट हुने ठाउँको सरसफाइमा ध्यान दिन आवश्यक छ।सफा पानी पिउने, शौचालयको प्रयोग गर्ने, साबुनपानीले हात धुने लगायत स्वास्थ्यका आवश्यक आधारभूत क्रियाकलापमा ध्यान दिन आवश्यक छ । सबै घरमा पानीको स्वच्छताका लागि फिल्टर लगायतका उपकरण राख्न नसके पनि उमालेर पानी निर्मलीकरण गर्न सबैले सक्छन् । घरको वरिपरि जमेको पानी र अन्य भाँडाहरू नियमित रूपमा सफा गर्नुपर्दछ र पानीलाई निरन्तर बदलिराख्नु पर्दछ ।खाद्य पदार्थहरूको हाइजिनमा पनि विशेष ध्यान दिनुपर्छ । खानेपानीलाई सदैव उमालेर मात्र पिउने र खाद्यपदार्थलाई राम्रोसँग पकाएर मात्र खाने गर्नु पर्दछ ।
चिकित्सकको सल्लाह अनुसार आवश्यक खोपहरू लगाएर हामी विभिन्न रोगहरूको जोखिमलाई कम गर्न सक्छौं। साथै,स्वच्छता र हाइजिनको बारेमा सामाजिक चेतना फैलाउनका लागि शिक्षा र जानकारीको अभाव हुन नदिनु महत्वपूर्ण छ ।बर्षातको मौसमले ल्याउने हरियाली र सौन्दर्यसँगै,स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर हामी यस मौसमको आनन्दलाई बढाउन सक्छौ ं।व्यक्तिगत, पारिवारिक, र सामुदायिकस्तरमा सचेत रहनु स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने प्रमुख आधार हो ।